नयाँ र भिजन भएको पार्टी नेकपा नै हो : संयोजक दाहाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबैभन्दा नयाँ र भिजन भएको पार्टी नेकपा नै भएको दाबी गरेका छन्।
पोखरामा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अहिले आवश्यकता अनुसारको घोषणापत्र ल्याएर आफूहरूले संकल्प गरेको बताए।
उनले भने, ‘हामी सबभन्दा नयाँ पार्टी हौँ, सबभन्दा भिजन भएको पार्टी हौँ। र अहिले हाम्रो पार्टीको नेतृत्वमा जसरी नेताहरूको विशाल जमात केन्द्रित भएको छ, युवाहरूमा पहिला सुरुमा त अलिअलि कन्फ्युजन जस्तो थियो। नेपाली कम्युनिस्ट पार्टीप्रति। यति बेला हामीलाई माओवादी भनेर, तीन वटा पार्टी तीन वटा नेता भनेर निकै नै प्रचार गरियो। त्यो कसले गर्यो भन्ने मलाई लाग्छ तपाईँहरूले बुझिराख्नु भएको छ।’
उनले अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले भ्रष्टाचार विरुद्ध लडाइँ लड्ने र भ्रष्टाचारीको संरक्षण गर्ने पनि उस्तै उस्तै हुन् भन्दै प्रचार गरेको भन्दै आपत्ति जनाए।
उनले थपे, ‘सत्ता पक्षमा हुने पनि उस्तै, प्रतिपक्षमा हुने पनि उस्तै भनेर जो भ्रम, युवाहरूलाई दिने कसरत भएको थियो मलाई लाग्छ त्यहाँबाट, यहाँसम्म आउँदा जेनजी आन्दोलनका पवित्र भावना भएका युवाहरूले अहिले बुझिसकेका छन्। हाम्रो अभिभावक पार्टी, हाम्रो विचार र मुद्दासँग मिल्ने पार्टी, हाम्रो निम्ति लडिराख्ने पार्टी नेकपा नै हो भन्ने विश्वास भइसकेको छ।’
उनले हजारौँको सङ्ख्यामा युवाहरू नेकपामा प्रवेश गरिरहेको जिकिर गरे।


