विदेशी शक्तिको आशीर्वादको पार्टी होइन राप्रपा : अध्यक्ष लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वाद वा कसैको ‘जुठो कुरो’ खाएर बनेको पार्टी नभएको बताएका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टी उम्मेदवार बन्नुभएको नेतृ कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राप्रपा नेपाली माटोमा संघर्षबाट जन्मिएको पार्टी रहेको उनले बताए । लिङदेनले राप्रपालाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम नपाल्न चेतावनी दिए ।
अध्यक्ष लिङदेनले व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईमाथि सरकारले पटक–पटक गरिरहेको अवरोध र पक्राउको निन्दा गरे । उनले सरकारले नियतवश नै प्रसाईंलाई निरुत्साहित पार्न खोजेको आरोप समेत लगाए । संविधानले वाक स्वतन्त्रता, हिँडडुलको स्वतन्त्रता र विरोध गर्ने अधिकार सुनिश्चित गरेको भन्दै उनले शान्तिपूर्ण ढंगले निर्वाचन बहिष्कार गर्छु वा विरोध गर्छु भन्न पाउने नागरिकको मौलिक अधिकार भएको जिकिर गरे ।
दुर्गा प्रसाईमाथि सरकारले ज्यादती गरेको भन्दै त्यसको भत्र्सना समेत गरे । देशमा बढ्दो अतिवाद र विदेशी हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै लिङ्देनले निर्णायकत्व नेपालीकै हातमा हुनुपर्नेमा जोड दिए । उनले आगामी प्रधानमन्त्री को हुने भन्नेकुरा समेत विदेशीले मिलाइदिन थालेको टिप्पणी गरे । उनले मतदाताहरूलाई फेसबुक, रिल र टिकटकका आधारमा धारणा नबनाई देशको भविष्यलाई केन्द्रमा राखेर सोच्न समेत आग्रह गरे ।
उहाँले काठमाडौं क्षेत्र नं. २ बाट पार्टीको प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्ती पोखरेलको पक्षमा मत माग्दै पोखरेल निष्ठावान र सेवामा समर्पित व्यक्तित्व भएको दाबी गर्नुभयो । पोखरेललाई मतदान गर्नु भनेको एउटा व्यक्तिलाई मात्र नभई देश र धर्म जोगाउने अभियानमा सहभागी हुनु भएको उहाँको तर्क छ । लिङदेनले निर्वाचन आयोगको आचारसंहिताको सम्मान गर्दै मतदाताहरूलाई ‘हलो’ चिन्हमा मतदान गर्न सांकेतिक रुपमा आग्रह गर्नुभयो ।


