रौतहट घटनालाई पार्टीले गम्भीरताका साथ लिएको छ: रास्वपा, प्रेस विज्ञप्ति सहित
काठमाडौं । चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट बालिकाको मृत्यु भएपछि रास्वपाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा आज जारी विज्ञप्तिमा पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीबाट आवश्यक पहल भइरहेको उल्लेख छ । ‘यस घटनाको गम्भीरतासँगै पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौं । पार्टीले यस घटनालाई अत्यन्त गम्भीरतासाथ लिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘घटनाको वस्तुनिष्ठ छानबिनका लागि सम्बन्धित प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँछौं ।’
रास्वपाले कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सम्बन्धबाट कुनै कसर बाँकी नराख्ने पनि स्पष्ट पारेको छ । चुनावी अभियानका क्रममा प्रयोग हुने सवारीसाधन परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन सबै सदस्य, उम्मेदवार र चालकलाई रास्वपाले निर्देशन निर्देशनसमेत जारी गरेको छ ।
रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिरको चुनावी प्रचारमा हिँडेको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु भएको थियो । बिहीबार दिउँसो रौतहटको ईशनाथ नगरपालिका-४ स्थित मठियाटोलमा बा १५ च ४२४४ नम्बरको कारले मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनलाई ठक्कर दिएको हो । रास्वपा उम्मेदवार सगिर मठिया गाउँमा घरदैलो गरिरहेका बेला कारले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करपछि गम्भीर घाइते बालिकालाई उपचारका लागि कारचालकले सिटी अस्पताल गौरमा ल्याएका थिए ।
घाइते बालिकालाई अस्पताल छाडेर फरार चालकलाई बेलुका प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसपछि बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । गौरमा चिकित्सकले बालिकालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।



