उपत्यकामा कम्तिमा १० सिट एमालेले जित्छः सचिव बस्नेत
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा काठमाडौं उपत्यकाका कम्तीमा १० सिट एमालेले जित्ने दाबी गरेका छन् ।
प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा उनले उपत्यकाका सबै सिट जित्नेगरी तयारी गरेपनि १० सिट जित्ने दाबी गरे । अघिल्लो निर्वाचनमा पाँच दलिय गठबन्धन र स्वतन्त्रप्रतिको क्रेजको कारण दुई सिटमा खुम्चिनुपरेको बताए ।
यसपटक मतदाताहरु एमाले नै ठिक रहेको भन्ने निष्कर्षमा पुगेको उनको दाबी छ । उनले उपत्यकावासीहरू सचेत, शिक्षित र राजनीतिक रूपमा परिपक्व रहेको पनि बताए । सचिव बस्नेतले केही घुमन्ते उम्मेद्वारहरुले भोट किनबेचको आरोप लगाउने गरेकोप्रति आपत्ति जनाउँदै उपत्यकामा देशकै सबैभन्दा धेरै बौद्धिक र शिक्षित वर्ग बसोवास गर्ने बताए । उनकाअनुसार उपत्यकाको मत परिवर्तित छ ।
सानो घटनाले पनि यहाँको मत परिवर्तन हुने उल्लेख गर्दै उनले यसपटक एमालेको माहोल बनेको उल्लेख गरे । उनले देशमा एमालेले जति विकास निर्माणका कार्य अरुले नगरेको दाबी गरे । उनले त्रिवि क्रिकेट मैदानको स्तरोन्नति, धरहरा, रानीपोखरी लगायतका संरचनाको निर्माण एमालेले गरेको बताए ।

