वामपन्थी र लोकतान्त्रिक दलको आर्थिक एजेण्डा एउटै हुँदैनन् : शिशिर खनाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले सबै दल मिलेर एउटै आर्थिक दृष्टिकोण ल्याउन नसकिने बताएका छन् ।
आईतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा उनले वामपन्थी र लोकतान्त्रिक दलहरूको एउटै आर्थिक एजेण्डा नहुने बताए ।
निजी क्षेत्रले लामो समयदेखि राजनितिक दलहरुलाई आर्थिक एजेण्डामा समान धाराणा बनाउन आग्रह गर्दै आएका छन् । तर रास्वपाका नेता खनालले विचार र वाद नै राजनीतिक दलहरूको मूल स्रोत भएकाले वामपन्थी र लोकतान्त्रिक दलहरूबीच एउटै आर्थिक एजेण्डामा सहमति हुन गाह्रो रहेको बताए ।
उनकाअनुसार वामपन्थी दलहरूले आफ्नै दृष्टिकोणलाई न्याय हुनेगरी कार्यक्रम ल्याउनुपर्छ भने लोकतान्त्रिक दलहरूले पनि आफ्नो विचारअनुसार स्पष्ट एजेण्डा अघि सार्नुपर्छ ।
मतदाताले दलको विचार र दृष्टिकोणकै आधारमा विश्वास गर्ने भएकाले विचारभन्दा बाहिर गएर बनाइने एजेण्डा कार्यान्वयनको चरणमा नजाने खनालको दाबी छ । उनकाअनुसार सबै मिलेर एउटै दृष्टिकोण ल्याउन दबाब दिनु भनेको विचारप्रति न्याय नगर्नु हो ।
रास्वपाले उदार अर्थनीतिको सिद्धान्तमा विश्वास गर्ने उनले बताए । तर त्यससँगै सामाजिक न्यायलाई पनि उत्तिकै महत्व दिने उनको भनाई छ । रास्वपा बहुलवादमा विश्वास गर्ने लोकतान्त्रिक शक्ति भएकोले यही आधारमा पार्टीका आर्थिक एजेण्डा तय हुने उनले स्पष्ट पारे ।
उनकाअनुसार पार्टीले घोषणापत्रमा रोजगारीलाई पहिलो प्राथमिकतामा राखेको छ । निजी क्षेत्रले करिव दुई दर्जन कानून खारेज वा संशोधन गर्नुपर्ने सुझाव दिएको उल्लेख गर्दै उनले रास्वपा त्यसप्रति प्रतिवद्ध रहेको बताए । उनले पार्टीले सरकार गठन गर्नसके निजी क्षेत्रले लामो समयदेखि परिमार्जन वा खारेजीको माग गर्दै आएका कानूनहरू तत्काल कार्यान्वयनमा लैजाने बताए।

