चुनावी अभियानमा नेपाली झण्डाको प्रयोग गर्न रोक लगाइयोस्ः गंगाकुमारी बेलवासे
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद गंगाकुमारी बेलवासेले चुनावी सभा, जुलुस तथा र्यालीमा नेपाली राष्ट्रिय झण्डाको प्रयोग गर्न रोक लगाउन सरकारसँग माग गरेकी छिन् ।
मंगलवार बसेको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले चुनावी प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको बताईन । उनकाअनुसार चुनावी अभियानमा प्रयोग गरिएका झण्डाको उचित व्यवस्थापन, संरक्षण तथा स्याहारसम्भार कसरी भइरहेको छ भन्ने विषयमा खोजी गर्न सकिने अवस्था छैन ।
घाँटीमा मालाझैं लगाइएका झण्डा अहिले कहाँ पुगेका छन्, कसरी राखिएका छन् र कसले स्याहार गरेको छ भन्नेबारे कुनै जानकारी नभएको उनले बताईन् । उनले नेपाली झण्डालाई चुनावी अभियानमा प्रयोग गर्न नहुने स्पष्ट पार्नुहुँदै यसको प्रयोग पूर्ण रूपमा रोक्न सरकारलाई आग्रह गरिन् ।
उनले राष्ट्रिय झण्डाको दुरुपयोग रोक्न आवश्यक कानूनी व्यवस्था र कारबाही प्रक्रिया प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिईन ।


