निर्वाचन आयोगले सोध्यो बालेन, हर्क, निकोलस, महेश र शोभालाई स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्गन गरेको भनेर प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ।
जसमा बालेन्द्र शाह (बालेन), हर्क साम्पाङ, कमल भुसाल (निकोलस), महेश बस्नेत र जानुका पाठक (शोभा)लाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
बालेन झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार, साम्पाङ सुनसरी १ का उम्मेदवार, निकोलस रुपन्देही २ का उम्मेदवार बस्नेत र शोभा भक्तपुर २ का उम्मेदवार हुन् ।
महेश बस्नेतको हकमा बालेनलाई छाउरा भनेको लगायतका विषयमा स्पष्टीकरण सोधिएको हो भने बालेनलाई केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको स्टाटसमा कमेन्ट गरेको विषयमा स्पष्टीकरण सोधिएको छ ।
निकोसल भुसाललाई जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्ह भनी प्रचार गरेको विषयमा स्पष्टीकरण सोधिएको छ । हर्क साम्पाङको हकमा चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको टिसर्ट लगाउन लगाएको लगायतको विषयमा स्पष्टीकरण सोधिएको छ ।
पाठकलाई उम्मेदवार माथि घृणाजन्य टिप्पणी गरेको विषयमा स्पष्टीकरण सोधिएको हो ।


