अमेरिले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्यो, मादुरोलाई तत्काल रिहा गर: चीन
बेइजिङ । भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई तत्काल रिहा गर्न चीनले माग गरेको छ । मादुरोलाई अपहरण गर्ने अमेरिकी कदमको चीनले कडा शब्दमा निन्दा गरेको छ ।
चीनले मादुरोको पक्राउलाई अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको चार्टर र राष्ट्रहरूको सार्वभौमिक समानताको सिद्धान्तको गम्भीर उल्लंघन भएको बताएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाद्वारा गरिएको सैन्य कारबाही र राज्य प्रमुखको अपहरणलाई ‘खुला हस्तक्षेप र शक्तिको दुरुपयोग’ को संज्ञा दिएका छन्।
सिन्ह्वामा विदेश मन्त्रालयको वक्तव्य उद्धृत गर्दै भनिएको छ- ‘भेनेजुएलाको शासन व्यवस्था कमजोर पार्ने प्रयास तुरुन्त रोक्न र मादुरोलाई तत्काल रिहा गर्न हामी चेतावनी दिन चाहन्छौं । अन्तर्राष्ट्रिय नियम र कानुनलाई बेवास्ता गर्दै यदि जंगली कानून लागू गरिन्छ भने कुनै पनि सार्वभौम देश सुरक्षित रहँदैन ।’
‘आज भेनेजुएला, भोलि अरू कुनै देश,यही हो अन्तर्राष्ट्रिय अराजकतर्फको बाटो,’ वक्तव्यमा उल्लेख गरेको छ। चीनले निरन्तर रूपमा संवाद, वार्ता र राजनीतिक समाधानमार्फत भेनेजुएलाको संकट समाधान गर्नुपर्ने धारणा राख्दै आएको छ।


