सरकार आफैँ निर्वाचन बिथोल्न लागि परेको छः रघुवीर महासेठ
काठमाडौं । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले सरकार आफै निर्वाचन बिथोल्ने काम लागि परेको आरोप लगाएका छन् ।
आईतबार जनकपुरमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनपछि लुटिएका हतियार र भागेका कैदीबन्दीहरु फिर्ता नभएकाबाट पनि सरकार चुनाव गराउन नलागेको पुष्टि हुने बताए ।
उनले जुनसुकै बेला पनि निर्वाचनमा भाग लिन भने तयार रहेको बताए। उनले प्रतिनिधिसभा पुनःस्थापना हुने विगतको नजिरअनुसार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धि फैसला गर्नुपर्ने जिकिर समेत गर्नुभयो ।
उनले भने,‘अहिले जानी नजानी यो सरकार आफै निर्वाचन बिथोल्न प्रक्रियामा अघि बढिरहेको छ । २३ र २४ गते लुटिएका हजारौँ हजार सुरक्षा निकायका हतियारहरु बाहिर छन् । कैदीहरु बाहिर छन । लुटिएका हतियारमध्ये ५० प्रतिशत पनि फिर्ता भएको छैन । भागेका कैदीहरुमध्ये बहुसंख्यक बाहिरनै छन । यस्तो स्थितिमा चुनाव कसरी गराउन सकिन्छ ? बाहिर रहेका कैदीहरु र हतियारहरु कसको विरुद्धमा प्रयोग हुन्छ ? त्यो एउटा छलफलको विषय हुनसक्छ । सोचनीय विषय हुन सक्छन् । त्यसैले नेकपा (एमाले) हामी सम्माननीत सर्वोच्च अदालतको आदेश पनि पर्खिरहेका छौ । हामी चुनावबाट भाग्दैनौ । चुनाव भएको खण्डमा चुनावमा हामी भाग लिन्छौँ नै । तर हाम्रो माग के छ भने संविधानमा भएका दफा, उपदफालाई सम्माननीय सर्वोच्च अदालतले ध्यान दिनुपर्दछ । संसद विघटनपछि अदालतले जुन नजिर स्थापित गरेको थियो । त्यही नजिर फेरी पनि कायम होस । पहिलाकै जस्तो निर्णय होस् ।’


