राष्ट्रिय पोशाक तथा राष्ट्रिय टोपी दिवस मनाइयो
काठमाडौं । आज अंग्रेजी नयाँ वर्षको पहिलो दिन नेपालभर राष्ट्रिय पोशाक तथा राष्ट्रिय टोपी दिवस विभिन्न कार्यक्रमसहित भव्यताका साथ मनाइएको छ ।
नेपाली टोपी: हाम्रो शान, हाम्रो पहिचान र मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक स्वाभिमानको पहिचान जस्ता नाराहरूसहित यो दिवस देशभर र विदेशमा रहेका नेपाली समुदायले उत्साहपूर्वक मनाएका छन् ।
जागरुक युवा अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानलगायतका संस्थाहरूको अगुवाइमा काठमाडौंका विभिन्न स्थानमा र्याली, सांस्कृतिक कार्यक्रम र प्रदर्शनी आयोजना गरिएका छन् ।
सहभागीहरूले दौरा–सुरुवाल, ढाका टोपी, भादगाउँले टोपी, गुन्यू–चोलो लगायतका परम्परागत नेपाली पोशाकमा सजिएर राष्ट्रिय पहिचानको संरक्षण र संवर्द्धनको सन्देश प्रवाह गरेका छन् ।
यो दिवसले नेपाली समाजमा राष्ट्रिय पोशाकप्रति युवा पुस्ताको आकर्षण बढाउँदै लगेको छ भने सरकारलाई पनि मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिन दबाब दिइरहेको छ ।


