गोली हान्नेलाई कारबाहीको माग गर्दै लौकही क्षेत्र तनावग्रस्त, भीड नियन्त्रण गर्न हवाई फायर

No ads found for this position
No ads found for this position

सुनसरी । सुनसरीको बोर्डर इलाका नजिक सशस्त्र प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीको गोली लागी मृत्यु हुनेमा कोसी गाउँपालिका १ का स्थानीय ४५ वर्षीय विजय  साह रहेका छन् ।

स्थानीयकाअनुसार रातको करिब साढे १ बजे गोली चलेको आवाज सुनिएको थियो । बाहिर निस्किएर हेर्दा वरिपरि सशस्त्र प्रहरी थिए । एक व्यक्तिलाई गोली लागेको थियो । घटनाका विषयमा नम्बर ४ गण हेड क्वाटर सुनसरीले तस्करीको सामान नियन्त्रणको क्रममा क्रस फाइरिङ भएको भएको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रमुख एसपी निर्मल थापाले भन्सार छलीका सामान बोकेको अटो रोक्ने क्रममा उक्त समूहले पहिला फाइरिङ गरेको बताए । जवाफी फाइरिङका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा चिनीका बोरा लोड गरी पछाडिबाट आउँदै गरेको सिटी चालकलाई लाग्न पुगेको एसपी थापाको भनाई छ ।

यता स्थानीयले भने सशस्त्रको ज्यादती भन्दै बिहानैबाट लौकही क्षेत्रमा प्रदर्शन चर्काएका छन् । उनीहरूले सशस्त्र प्रहरी उपर सेटिङको आरोप लगाउँदै रकम नपाएको निहुँमा गरिखाने सामान्य व्यक्तिको गोली हानी हत्या गरेको आरोप लगाएका छन् ।

स्थानीयले मृतकको शव पूर्व पश्चिम राजमार्गमा राखी सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन् । सो क्रममा प्रर्दशनकारीहरुले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेका छन् ।

प्रहरीले भीड तितरबितर पार्न केही राउन्ड हवाई फायर चलाएको छ । गोली हान्ने व्यक्तिलाई कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन चर्काएपछि सो क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रशासनले आन्दोलनरत पक्षसँग वार्ताको तयारी गरिरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *