ग्यास बोकेको ट्रक दुर्घटना, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
रौतहट । ग्यास बुलेट ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा पूर्व-पश्चिमा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
राजमार्गको चन्द्रनिगाहपुर-निजगढ सडकखण्डको चन्द्रपुर-४ दोस्रो लच्का नजिकै ग्यास बुलेट ट्रक दुर्घटना हुँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
मंगलबार बिहान ७:५० बजेतिर रक्सौल, भारतबाट महेन्द्रनगर, धनुषातर्फ जाँदै गरेको युपी १७ एपि २११४ नम्बरको ग्यास बुलेट ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा चालक भारत कदोरमा जिल्ला जयनगरका ३७ वर्षीय पवन यादव घाइते भएका छन् । उनको सिभिल अस्पताल चन्द्रनिगाहपुरमा उपचार भइ रहेको छ ।
ट्रकबाट ग्यास लिक भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले बताएको छ । ग्यास लिक भइरहेकाले सुरक्षाका कारण दुर्घटनास्थलको ३ किलोमिटर वरिपरि मान्छे ओहोर दोहोर गर्नमा रोक लगाइएको छ। राजमार्ग अवरुद्ध हुँदा पूर्वबाट पश्चिम तथा पश्चिमबाट पूर्वतर्फ आवतजावत गर्ने सवारी साधनबिच बाटोमै अलपत्र परेका छन् ।
तस्बिर : सौजन्य प्रवीण कुमार शर्मा


