मध्यरातमा रवि, बालेन र कुलमानबिच भएको सहमतिमा के छ ?
काठमाडौं । कमल पोखरीमा सोमबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच एकता गर्ने सहमति भएको छ।
सहमति रवि, कुलमान र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको हो ।
सहमति अनुसार, एकतापछि बन्ने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ। दलको झन्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टी रहने, चुनाव चिन्ह ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने सहमति भएको छ।
भ्रष्टाचार र कुशासनविरुद्ध जेनजीले उठाएको आन्दोलनको भावना आत्मसात् गर्दै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
रास्वपाको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन्। उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने व्यवस्था गरिएको सहमति पत्रमा उल्लेख गरिएको छ ।
उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानी जिम्मेवारी दिने सहमति गरिएको छ।
दुवै दलले उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, मेरिटोक्रेसीको स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनलाई मूल एजेन्डा बनाउँदै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यसहित अघि बढ्ने उल्लेख गरेका छन्।
यस्तो छ सहमति-



