सर्वपक्षीय सरकार गठनको माग गर्दै विप्लवले राष्ट्रपतिलाई पेश गरे १३ बुँदे माग
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग माग गरेको छ ।
मंगलबार शीतल निवास पुगेर विप्लवले राष्ट्रपति पौडेललाई सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै १३ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
उनले मुलुकको पछिल्लो राजनीतिक अवस्था र जेनजी आन्दोलनपछि राजनीतिक अन्योलता बढेको भन्दै यो सरकार भङ्ग गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरे ।
गणतन्त्रपछिका १८ वर्षमा मौलाएको भ्रष्टाचार, दलीयकरण र बेरोजगारीका कारण जनता सडकमा उत्रिएको दाबी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था र संविधानको पुनर्लेखन हुनुपर्ने उनले माग गरेका छन् ।
भदौ २३ र २४ को गोलीकाण्ड र विध्वंसका दोषीलाई कडा कारबाही गरिनुपर्ने, भ्रष्टाचारको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने उनीहरूको सम्पत्ति राष्ट्रियकरण र जन्मकैदको सजाय हुनुपर्ने, कालोधन नियन्त्रणका लागि ५ सय र १ हजारका नोट खारेज गर्नुपर्नेलगायतका माग विप्लवको छ ।
१० दिनभित्र माग सम्बोधन नगरे सडक संघर्षमा उत्रिने उनले चेतावनी दिइएका छन् ।


