उपयोग गर्न नपर्ने औषधी पनि उपयोग गर्न बाध्य पारिएको छ: अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले हामीलाई उपयोग गर्न नपर्ने औषधी पनि उपयोग गर्न बाध्य पारिएको बताएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा उनले उपयोग गर्न नपर्ने टेष्ट र खानै पर्ने औसधिको सिफारिस गर्नु राम्रो नभएको बताए ।
उनले पछिल्लो १० वर्षमा स्वास्थ्य तथा शिक्षाजस्ता आधारभुत क्षेत्रमा बजेट घटेको बताए । स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु राम्रो नभएको उनको भनाइ छ।
देशको समग्र राजश्व संरचनामा वृद्धि भएपनि स्वास्थ्य तथा शिक्षा क्षेत्रमा बजेट घटेको उनको भनाई छ । उनले स्वास्थ्य क्षेत्रमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा सरकारी संयन्त्रबीच आवश्यक सहकार्य नभएको कारण बजेट घटेको हुनसक्ने बताए । यसलाई एकैपटकमा सुधार गर्न नसकिने उनको भनाई छ ।
उनले स्वास्थ्य बीमा भुक्तानीको जिम्मेवारी सरकारले लिनुपर्ने पनि बताए । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बाँकी रहेको भुक्तानी गर्नुपर्ने पक्षमा आफू रहेको उनको भनाई छ ।
उनले स्वास्थ्यमन्त्रीलाई सबै भुक्तानी छिटो पूरा गर्ने प्रक्रियाका लागि आग्रह गरे । विगतका सरकारले रोक्यो भनेर अहिलेको सरकारले रोक्न नमिल्ने उनको भनाई छ । उनले स्वास्थ्य बीमा आवश्यक छ वा छैन भन्ने विषयमा भने पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।
राज्यले धान्न नसक्ने संरचना राख्न नहुने उनको भनाई छ ।


