ओलीको ‘कुटी’ डिजाइनमा संलग्न इन्जिनियरलाई कारबाही गर्नुपर्छ: मन्त्री पुन
काठमाडौं । शिक्षामन्त्री महाविर पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लिएर सामाजिक सञ्जालमा ठट्यौली पारामा टिप्पणी गरेका छन्।
मन्त्री पुनले ओलीका लागि बनाइन लागेको निवास (कुटी) को डिजाइनको विषयलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्। उनले ओलीको कुटी डिजाइनमा संलग्न इन्जिनियरलाई ‘सख्त कारबाही’ र ‘मानहानीको मुद्दा’ लगाउनुपर्ने भन्दै व्यङ्ग्य गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा मन्त्री पुनले लेखेका छन्, ‘यो नक्सा डिजाईन गर्ने इञ्जीनियरलाई सख्त कार्वाही गर्नु पर्छ । अनी घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो भाग छ। हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याउ भने पछि यत्रो ठूलो दरवारको नक्सा बनाई दिनु हुन्छ त उसले । कहाँ सम्मको लापरवाही हो यो ? एक छिन रमाईलो।’
मन्त्री पुनको यो ‘ठट्यौली’ स्टाटस ओलीका लागि भक्तपुरको बालकोट नजिकै बन्न लागेको नयाँ निवासको डिजाइनलाई लक्षित हो।


