गम्भीर अपाङ्गता भएका व्यक्तिको अवस्था नाजुक छ: सञ्चारमन्त्री खरेल (भिडियो)
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरूमाथिको विभेद अन्त्य नभएको बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले गणतन्त्रमा पनि अपाङ्गता भएका व्यक्तिहरूमाथिको विभेद अन्त्य हुन नसकेको बताए ।
उनले भने, ‘गणतन्त्र नेपालको नागरिक र आज नेपाल सरकारको प्रवक्ता भई राख्दा सञ्चार तथा सूचना प्रविधि मन्त्री भईराख्दाखेरि म निर्भीक रूपमा निर्भयताका साथ एउटा कुरा चाहिँ स्वीकार गर्छु यहाँहरूको सामुमा, त्यो के हो भने जतिसुकै विभेदको अन्त्य गर्यौँ भने पनि यहाँहरूमाथिको विभेद अन्त्य भएको छैन ।’
उनले देशमा जनसंख्याको साढे दुई प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू रहेको र तीमध्ये गम्भीर रूपमा अपाङ्गतामा भएका व्यक्तिहरू डेढ लाख जति रहको बताए ।
गम्भीर अपाङ्गता भएका व्यक्तिहरूको अवस्था नाजुक रहेको जनाउँदै उनीहरूलाई राज्यले सहयोग गर्न नसकेको उनको भनाइ छ । देशमा सङ्घीयता आए पनि अपाङ्गता भएका व्यक्तिहरूले सङ्घीयताको महसुस गर्न नपाएको उनले बताए ।
यस्तै उनले राज्यका संयन्त्रहरू पनि अपाङ्गतामैत्री नभएको उल्लेख गरे । मन्त्री खरेलले सञ्चार मन्त्रालयले अपाङ्गमैत्री डिजिटल प्लेटफर्म तयार गर्न लागेको जानकारी दिए । त्यसको लागि आवश्यक सुझाव दिन उनले आग्रह गरे ।


