सडकबाट औंला ठड्याएर कसैलाई अपराधिकरण गर्न मिल्दैन: अर्थमन्त्री खनाल
काठमाडौं ।अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधिकरण गर्न नमिल्ने बताएका छन्।
सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९ औँ वार्षिक साधारण सभामा उनले गल्ती गर्नेलाई कानुनले सजाय दिने बताउँदै सडकबाट अपराधिक करार गर्न नमिल्ने बताएका हुन्।
हरेक आन्दोलनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको उल्लेख गर्दै उनले कानूनी राज्यमा कसैको सम्पतीमाथी हमला गर्नु सह्य नहुने चेतावनी दिए। ‘सम्पती सिर्जना गर्ने व्यक्तिले व्यक्तिगत तवरले कुनै गल्ती गरेको छ भने उसलाई कारबाही गर्ने कानुनहरु हुन्छन्, कानुनसंवत ढंगले कुनैपनि व्यक्तिलाई अपराधिकरण गर्ने वा कारबाही गर्ने हो’, उनले भने ‘सडकबाट कसैलाई औला ठडाएर अपराधिकरण गर्नु चाँही कानुनी राज्यमा मिल्दै मिल्दैन।’
नेपालमा नेपाली वा विदेशी जसले सम्पती सिर्जना गरेपनि त्यो मुलुकको सम्पती हुने र विगतमा विदेशी लगानीकर्ताले नेपालमा गरेको कतिपय लगानीको स्वामित्व आज नेपाली व्यवसायी र नेपाल सरकारको स्वामित्वमा आएको समेत उनले स्मरण गराए।
लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ।


