केपी ओलीले खरानी धसेर जनतालाई तर्साउन खोज्दै छन्: भीम रावल (भिडियो)
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी मुलुकको प्रमुख राजनीतिक शक्ति बन्ने बताएका छन् ।
शुक्रबार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले सुदूरपश्चिम प्रदेशको समस्या समाधन गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको जिकिर गरे।
उनले भने,‘अब प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मा होस्, वा अरु दिन होस् । अब नेपाली कम्युनिष्ट पार्टी यो देशको प्रमुख राजनीतिकक शक्ति भएर तपाईहरुलाई नेतृत्व दिनेछ ।
त्यो कुरामा तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु । यसमा तपाईंहरुले होष्टेमा हैसे दिनुहोस् । यो सुदूरपश्चिको नदी, विभिन्न सिंचाई आयोजना, हाम्रा वनस्पती, हाम्रो कृषि, युवाहरुको रोजगारीका लागि तपाईहरु हामीलाई साथ दिनुहोस्, हामी दृढतापूर्वक तपाईहरुलाई साथ दिन तयार छौ । तपाईंहरुको कठिनाईमा नेपाली कम्युनिष्ट पार्टी सदा तयार छ ।’
नेता रावलले विगतमा पनि नेकपालाई जनताले साथ दिएको तर त्यसलाई जोगाउने काम केपी ओलीले गर्न नसकेको आरोप समेत लगाए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि नै मिसन ०८४ नभइ पतन ०८४ आउँछ भनेर आफूले बताएको सुनाए ।
उनले भने,‘मैले त्यही बेलामा भनेको थिएँ, मिसन ०८४ होइन पतन ०८४ आउँदैछ भनेको थिएँ । आज केपी ओलीजी खरानी धसेर जनतालाई तर्साउन खोज्दै हुनुहुन्छ।’
उनले अब सुदूरपश्चिमका जनता राष्ट्रिय स्वाधिनताको झण्डा बोकेर उत्रने र तार चुनाव चिन्हमा मतदान गर्ने विश्वास व्यक्त गरे ।


