ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा, ओलीलाई अभिभावकीय भूमिकामा बस्न आग्रह
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरका नेता कार्यकर्ताको आग्रह र सुझावलाई स्वीकारेर आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् ।
मंगलबार उनले एक विज्ञप्ति जारी गर्दै उनले अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । यसअघि बसेको पार्टीको सचिवालय बैठकमा पनि उनले आफू अध्यक्ष बन्ने जानकारी गराएका थिए ।
उनले पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रूचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न आँफु प्रतिबद्ध भएको बताएका छन् ।
उनले भनेका छन, ‘पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमरेडलाई अनुरोध गर्दछु।’


