नेकपामा ‘बा’ प्रवृत्ति हाबी हुन्न, पुरानो धङधङीबाट मुक्त हुनुस्ः माधव नेपाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई आग्रह गरेका छन् ।
अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको बताए । उनले पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरुको भन्ने मानसिकताबाट मुक्त हुन पनि आग्रह गरे ।
उनले नेकपा एमालेका कार्यकर्ताहरुले अध्यक्ष केपी ओलीलाई ‘बा’ भन्ने गरेकोप्रति कटाक्ष गर्दै पार्टी भित्र ‘बा’ प्रवृत्ति हाबी हुन दिन नहुने बताए । एउटा मात्रै नेताको चर्चाले आफूहरुको पार्टीभित्र पनि ‘बा’ भन्ने प्रवृति हावी हुने उनको भनाई छ ।
उनले भने, ‘म तपाईंहरुलाई फेरि पनि भन्न चाहन्छु, अव यो नयाँ पार्टी भएले पुरानो पार्टीको धङधङीबाट मुक्त पनि हुनुपर्छ । यो महशुस नहोस्, मनोविज्ञानलाई पनि बुझेर चल्नुपर्छ । त्यसो हुनाले प्रशिक्षणको पनि आवश्यक्ता छ । पेरिसडाँडा मेरो, आलोकनगर तपाईहरुको भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ । यो संगठन मेरो, अर्को संगठन अरुको भन्ने भ्रममुक्त हुनुपर्छ । अब एउटै पार्टी बनाएका छौँ । सबै जनसंगठनहरुलाई पनि एकतावद्ध गर्नुपर्नेछ । इतिहासको चर्चा गर्दाखेरि पनि ५२ सालदेखीको मात्रै होईन २००६ सालदेखिको चर्चा हुनुपर्छ । २०२८ सालदेखि झापा विद्रोहको चर्चा हुनेछ । एउटा नेताको मात्रै हुनेछैन, अनेकौँ नेताहरुले खेलेको महत्वपूर्ण भुमिकालाई पनि स्मरण गुर्नपर्छ । नभए हामीभित्र पनि ‘बा’ भन्ने प्रवृति हावी हुनेछ । ‘बा’ प्रवृत्तिबाट मुक्त हौँ।’
उनले एक, अर्काप्रतिको विश्वासले पार्टीलाई नेपाली जनताको आशा र भरोसाको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए।


