नियुक्ति गर्दा महिला कहाँ छन् भनेर मैले खोज्ने गरेको छु: प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने बताएकि छिन् ।
मंगलबार काठमाडौंमा एक समारोहकाबीच लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै उनले महिलाहरुलाई प्राथमिकताका साथ सरकारी नियुक्ति र बढुवामा प्रश्रय नदिए आफूमाथि नै प्रश्न चिन्ह खडा हुने बताइन् ।
उनले आफूले हरेक नियुक्ति र बढुवामा महिलाहरु कहाँ छन् भनेर खोज्ने गरेको जिकिर गरिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘हिंसालाई अन्त्य गर्ने हो भने समाजलाई जगाउनुपर्दछ । हर मुलुकको आफ्नै परम्परा हुन्छ । मुख्य कुरा महिलामाथि हुने हिंसाको अन्त्य हुन्छ । हिंसाले मानसिक चोट ल्याउँछ । मानसिक चोट भएपछि मान्छेलाई डिप्रेशन हुन्छ । महिलामाथि प्रताडन गर्दागर्दा उसको डिप्रेशन जस्तो नै आएको हुन्छ । एक दिन उसले लोग्नेलाई नै सिध्याइदिन्छ । जसले डिप्रेशन गरेको थियो । चाहे प्रेमी होस्, चाहे श्रीमान होस् । उसैलाई सिध्याउँछ । त्यसको कारक तत्व मर्ने मान्छे आफैँ हुन्छ । जसले त्यो महिलालाई सताईराखेको हुन्छ । त्यस्ता व्यवहारहरु हुन्छ हाम्रो समाजमा । यसको अन्त्य गर्नुपर्छ ।’
उनले छोरा र छोरीबीच भेदभाव गर्न नहुने बताइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिले मानिसहरुको दुई वटा छोराछोरी हुन्छन् वा एउटा तर भेदभाव गर्नु भएन । गरिवी छ के को भेदभाव । त्यसैले पहिले गरिवी निवारण गर्नुपर्यो नि त । शिक्षा पनि दिनु पर्यो । समाजमा चेतना पनि ल्याइदिनुपर्यो । रोजगारी सृष्टि गर्नुपर्यो ।’
उनले अहिलेको सबैभन्दा ठूलो समस्या भनेको रोजगारी नपाएर विदेश जानु र सबैभन्दा ठूलो ट्रबल भनेको विदेशमा गएर महिलाहरु प्रताडित हुनु र हिंसाको शिकार हुनु परेको बताइन्। उनले अहिलेको जेनजीको मोभमेन्टले माग पनि त्यहि रहेको बताइन् ।
उनले भनिन्, ‘सारा मानिसहरु रोजगारी नपाएर विदेशमा गएर बाध्य भएर बस्नुपरेको छ । हो त्यसको अन्त्य गर्नुपर्यो । मुलुकमा त्यसको लागि गर्ने उनीहरुको माग के हो भन्दा भ्रष्टाचारको अन्त्य र भ्रष्टाचारले पनि मानिस प्रताडित हुन्छ । सुशासन हुनुपर्यो । त्यसले महिलाहरुलाई राम्रो गर्छ । महिलाहरुले पनि रोजगारी पाउँछन् । म अहिले क्षणिक रुपमा एक, दुई महिना कति भएको छ । नियुक्ति गर्दा महिला कहाँ छन् भनेर मैले खोज्ने गरेको छु । तर क्रमिक रुपमा पुरुष फस्ट रोमा छ र उसले जिन्दगीभर मेहनत गरेर त्यो ठाउँमा पुगेको छ भने उसलाई पनि चित्त दुखाउने त होइन । जो पहिलो नम्बरमा आउँछ, उसैलाई प्रमोशनमा पहिलो प्राथमिकता दिने गरेका छौँ । तर जहाँनिर महिलाको ठाउँ छ, स्थान छ । नियुक्ति हुनेकुरा छ भने त्यहाँ पनि हामीले प्रश्रय दिएका छौं । अबका दिनमा पनि हामी भेटेसम्म प्रयास गर्छौं । यतिखेर हामीले नै बसेर महिलालाई प्रोत्साहन गरेनौँ भने त गाह्रो पर्छ, कठिन हुन्छ । एउटा भन्नेकुरा पनि आउँछ । किन गरेन भन्ने आउँछ । तर जहाँनि महिलाको उपदेयता छ । जहाँनिर महिलालाई अग्रणी खण्डमा ल्याउन सकिन्छ । त्यहाँ हामी महिलालाई प्रश्रय दिन्छौँ ।’
प्रधानमन्त्री कार्कीले महिला हिंसा अन्त्यका लागि गरिवी निवारण र समाजलाई जगाउने कुरालाई निनन्तर अघि बढाउन आवश्यक रहेको बताइन् ।


