‘कु’ मार्फत सत्ता कब्जा गर्न खोज्ने यो सरकारले तत्काल राजीनामा दिनुपर्छ: जेनजी मुभमेन्ट
काठमाडौं । जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । राजीनामा नगरे सरकारलाई बहिष्कार गर्न उक्त संगठनले देशवासीमा आह्वासमेत समेत गरेको छ । प्रधानमन्त्री कार्कीको सरकारले जनविश्वास गुमाएको भन्दै मुभमेन्टले राजीनामा मागेको हो।
मुभमेन्टले आज एक वक्तब्य जारी गर्दै छोटो समयमै सरकारका मन्त्रीहरू विभिन्न काण्डमा फँस्न थालेको र भदौ २४ गतेको आन्दोलनमा युवाहरूलाई उत्तेजित गर्ने काम प्रधानमन्त्री सुशीला कार्की र ओमप्रकाश अर्यालबाट भएको दाबी गरिएको छ ।
वक्तब्यमा भनिएको छ- ‘उनीहरूले जानीजानी राज्यविहीनता र अराजकताको वातावरण सिर्जना गरेर राजनीतिक कु मार्फत सत्ता कब्जा गर्ने योजना बनाइरहेको तथ्य आज देशले स्पष्ट देखिसकेको छ, जनताले आज उनीहरुको वास्तविक उद्देश्य बुझिसकेका छन् । देशलाई थप संकट अराजकता र अस्थिरतामा धकेल्ने कृत्यमा सुशीला कार्कीको समूह निरन्तर सक्रिय छ । यो सरकार संवैधानिक वैधताविहीन मात्र छैन, यसको राजनीतिक र नैतिकता र जनविश्वास दुवै समाप्त भइसकेको छ ।’
विजय साहले हस्ताक्षर गरेको वक्तब्यमा सत्ता कु गरेर बनेको सुशीला कार्की र उनको मन्त्रीपरिषदलाई सार्वजनिकरुपमा बहिष्कार गर्दै अवज्ञा गर्न देशवासीलाई आह्वान समेत गरेको छ ।



