नेसनल भोलेन्टियर फोर्ससँग तर्सिनुपर्दैन,एमालेप्रति विमती राख्नेको पनि यसले सुरक्षा गर्छ: ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको नेशनल भोलेन्टियर फोर्सले एमालेप्रति विमती राख्नेहरुको पनि सुरक्षा गर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सो फोर्सको घोषणा कार्यक्रममा बोल्दै ओलीले राज्यका संयन्त्रले मात्रै मुलुक र जनताको जीउधनको सुरक्षा गर्न नसक्ने कुरा हालै भएको जेनजी आन्दोलनको क्रममा देख्नु, भोग्नु परेकाले पनि आफ्नो पार्टीले सो फोर्समार्फत देश र जनताको सुरक्षाका लागि आवश्यक कदम चाल्नुपरेको बताए ।
उनले भने,‘यो राष्ट्रिय हितको लागि गठन भएको हो । एमालेप्रति विमति राख्ने अथवा खुदै यो संगठनप्रति असहमती राख्नेहरुको पनि जीउधनको रक्षा गर्ने, उसको अधिकारको रक्षा गर्ने काममा लागि यो गठन भएको हो । त्यसकारण यसको अस्तित्व र विकाससँग यसको मजदुतीसँग कोही पनि आत्तिनु पर्दैन । कोही पनि तर्सिनु पर्दैन । यो देशमा शान्ति सुव्यवस्था कायम गर्नका लागि स्थापना भएको हो । राज्यले मात्रै शान्ति सुरक्षा कायम गर्ने अवस्था हामीले देख्यौँ, भोग्यौं । राज्यको संयन्त्रले मात्रै राज्यको, जनताको जिउधनको, राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसक्ने भएपछि त्यसको सुरक्षाका लागि यसको स्थापना गरिएको हो ।’
अध्यक्ष ओलीले सो फोर्सले राष्ट्रिय हितको क्षेत्रमा काम गर्ने बताए।


