निर्वाचनलाई सफल बनाउन राष्ट्रपतिको अपिल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन्। शुक्रबार पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तिको अवसरमा बोल्दै उनले निर्वाचनलाई सफल बनाउन आह्वान गरे ।
राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल बनाउन सबै पक्ष लाग्नुपर्ने स्पष्ट पारे।
उनले भने,‘देश आज विषय परिस्थितिबाट गुज्रिएर यो अवस्थामा आएको छ । त्यो विषय र कठिन परिस्थितिबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँदै फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचनको मिति तय भएको छ । यो निर्वाचन परिणमले सुशासन, विकास र समद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ । यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीलाई अपिल पनि गर्दछु ।’
राष्ट्रपति पौडेलले समाज तथा राष्ट्रको आवश्यकताअनुसार व्यवहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षालाई अब्बल बनाउनेतर्फ शिक्षण ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए। उनले सो क्याम्पसलाई महिला विश्वविद्यालय बनाउन गरिएको प्रयासप्रति पनि खुशी व्यक्त गरे ।


