सिमरामा कर्फ्यू जारी : २ जना पक्राउ
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ अन्तर्गत सिमरा चोकमा जेनजी र प्रहरीबिच झडप भएको छ। झडपका कारण सिमरा क्षेत्रमा सुरक्षा सम्वेदनशीलता उच्च बनेपछि आज बिहीबार पनि कर्फ्यू आदेश जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाराका अनुसार दिउँसो १ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू लागु रहने छ। कर्फ्यू क्षेत्र सिमरालाई केन्द्र मानी उत्तरतर्फ पथलैयासम्म र दक्षिणतर्फ जितपुरको लालका पुलसम्म जारी गरिएको छ ।
प्रशासन अनुसार बुधबार सिमरा चोकमा जेनजी समूहका युवाहरू र नेकपा (एमाले) का कार्यकर्ताबिच भएको झडपपछि स्थिति तनावपूर्ण बनेको थियो । सोही घटनालाई लिएर थप अशान्ति फैलिन नदिने उद्देश्यले आज पनि कर्फ्यू आदेश जारी गरिएको प्रशासनले बताएको छ।
झडपका क्रममा सामान्य हाताहात र ढुङ्गामुढा चलेको थियो। घटनाबारे अनुसन्धान अगाडि बढाउँदै जिल्ला प्रहरी कार्यालय बाराले दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले थप संलग्नताका आधारमा अन्य व्यक्तिहरूलाई पनि खोजी भइरहेको जानकारी दिएको छ।
सुरक्षा निकायले घटनास्थल आसपासमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। स्थानीयवासीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ । प्रशासनले शान्ति-सुरक्षा कायम राख्न सबैलाई संयमित रहन र सहयोग पुर्याउन आग्रह गरेको छ।
यसैगरी हिजो भएको घटनामा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका-२ का ४० वर्षीय धनबहादुर श्रेष्ठ र सोही ठाँउ वडा ६ का ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् ।


