एकै घरका ७ जनालाई ६ घण्टा बन्धक बनाएर लुटपाट
नवलपुर । नवलपुरमा एकै घरका ७ जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको घटना सार्वजनिक भएको छ । गत मंगलबार राति नवलपुरको कावासोती–८ का ४६ वर्षीय सञ्जय खड्काको घरका ७ जनालाई बन्धक बनाएर लुटपाट गरिएको हो ।
प्रहरीका अनुसार मास्क लगाएर आएका २ जनाले उनीहरुलाई घरभित्रै ६ घण्टा बाँधेर लुटपाट गरेका हुन् । उनीहरुले आइफोन मोबाइल १ थान र रेडमि मोबाइल २ थान र सुनका बाला लुटेका लुटेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सिसीटिभी फुटेजमा दुई जना मास्क लगाएका मान्छे देखिएका छन् । प्रहरीले उनीहरु ज्यान मार्ने उद्देश्यले आएको आशङ्कामा अनुसन्धान अघि बढाएको छ । साँझ ७ बजेदेखि बन्धक बनाइएकोमा राति १ बजेतिर हारगुहार मागेपछि उनीहरु भागेका थिए ।
पीडितका अनुसार उनीहरुले वृद्ध बुवा आमा, श्रीमती, छोराछोरी र बहिनीसमेतलाई नियन्त्रणमा लिई आफूहरु सामाजिक अभियन्ता भएको र स्थानीय मिटरब्याजीहरुको खोजी र कारबाहीका लागि आएको भन्ने आशय व्यक्त गरेका थिए ।


