देशको बागडोर रास्वपाले सम्हाल्छ, हामी चुनावको तयारीमा लागौं : स्वर्णिम वाग्ले
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयपछि देशको बागडोर रास्वपाले सम्हाल्ने दाबी बताएका छन् ।
चितवनको सौराहामा शुक्रबारबाट सुरु भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले यस्तो दाबी बताएका हुन् । उनले संघीय निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा अब सबै निर्वाचनमा केन्द्रिय हुनुपर्ने बताए ।
वाग्लेले भने, ‘संघीय निर्वाचन घोषणा भइसकेको छ । त्यसको तयारी पनि हामीले अब घनिभुत ढंगले गर्नुपर्नेछ । १ सय २० दिन भन्दा कम छ । त्यसकै सेरोफेरोमा निर्वाचनको तयारीका लागि पनि विचार, योजना र सिद्धान्तमै टेकेर हामीले जनतालाई प्रेरित पार्नुछ र प्रेरणा दिनुछ । अबको केही समयपछि देशको कालखण्डको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले नै सम्हाल्ने छ ।’
उनले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारीमा एकजुट भएर लाग्न पार्टीका नेता तथा कार्यकताहरुलाई निर्देशन दिए ।
