भाषण गर्दागर्दै ढलेका जिफन्टका केन्द्रीय उपाध्यक्ष गौतमको निधन
भैरहवा । राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार एक कार्यक्रममा भाषण गर्दागर्दै अचानक ढलेर निधन भएको छ।
६५ वर्षीय गौतम नेपाल विद्युत प्राधिकरणको भैरहवास्थित कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गर्दागर्दै ढलेका थिए।
उनलाई उपचारका लागि तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएको थियो। तर अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरे।
धर्ना कार्यक्रममा बोल्दै गौतमले बुधबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको बैठकको संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने जनाएका थिए । कार्यक्रममा बोल्दै उनि आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए ।
गौतमका दुई छोरा र श्रीमती रहेका छन्। बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका उनि २०५४ सालदेखि जिफन्टमा सक्रिय थिए।


