बाक्लो हिमपातले अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो
पर्यटकहरुलाई सहजीकरणको निम्ति नेपाल प्रहरी परिचालन
म्याग्दी । म्याग्दी स्थित अन्नपूर्ण आधार शिविरमा आज भएको हिमपातका कारण शिविरको पदयात्रा पूर्ण रुपमा रोकिएको छ।
उच्च हिमाली भेगमा हल्ला वर्षा सहितको हिमपात हुनथालेपछि सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरेर पदयात्रा पूर्ण रुपमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
वर्षा र हिमपातका कारण अन्नपूर्ण गाउँपालिका,४ नारच्याङ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर,मौरिस हर्जोग पदमार्ग र पञ्चकुण्ड तालको भ्रमणमा रोक लगाइएको हो ।
अहिले पदयात्रामा रहेका पर्यटकहरुलाई सहजीकरणको निम्ति नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय उद्दारकर्मी इन्द्रसिंह शेरचन थकाली सहितको टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी त्यस तर्फ परिचालन भएको छ।
पदयात्रामा भइरहेका पर्यटकलाई फर्काउन र पदमार्गमा अलपत्र परेकालाई उद्दार गर्न उक्त टोली परिचालन गरिएको हो । आवश्यक सहयोग तथा सूचना लागि प्रहरी कन्ट्रोल नम्बर १०० वा नजिकको प्रहरी कार्यालय र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिसँग सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
वर्षा नरोकिँदा सम्म पदयात्रामा नजान अनुरोध गरिएको छ । पर्यटन आगमन वृद्धि भएसँगै उत्साहित भएका होटल व्यावसायीहरु भने बेमौसमी वर्षा भएपछि निरास बनेका छन् ।


