प्रमुख आयुक्तको राजीनामा माग गर्दै अख्तियारमै ‘जेनजी’को निवेदन

काठमाडौं । ‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै दबाब पत्र (निवेदन) बुझाएको छ। मंगलबार बिहान त्यहाँ पुगेका उनीहरूलाई प्रहरीले रोक्नखोजेपछि केहीबेर नाराबाजी र धकेलाधकेल पनि भएको थियो।
दबाब पत्रमा अख्तियार प्रमुख प्रेमकुमार राईलगायत सबै आयुक्तहरूको राजीनामा माग गरिएको छ।
अख्तियारका हालका पदाधिकारीहरूबाट भ्रष्टाचारीहरूलाई कारबाही सम्भव नभएको भन्दै जेनजी प्रतिनिधिहरूले उनीहरूको राजीनामा मागेका हुन्।
पत्रमा भनिएको छ-‘प्रमुख आयुक्त र अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत संसदीय सुनुवाइ विना गरेको थियो, जसले निष्पक्षतामा गम्भीर प्रश्न उठाउँछ’ उनीहरूको मागपत्रमा भनिएको छ ‘भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा तपाईंको नेतृत्वमा निष्पक्षता सम्भव छैन। यसकारण ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्टाचार र दणडहीनताको अन्त्य गर्नका लागि दिएको सहादतलाई सम्मान गर्दै नैतिकताका आधारमा तपाईंलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिनका लागि आह्वानका र दबाब दिन्छौं।’