बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन् ।
जेनजी आन्दोलन चर्किँदै जाँदा उनले भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामा गर्ने घोषणा गरेका थिए ।
आज उनले उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गरिएको लिखित पत्र ह्वाट्सएपमार्फत पठाएर औपचारिक रूपमा पद त्याग गरेका हुन् ।
राजीनामा पत्रमा पाठकले लेखेका छन्, ‘भाद्र २३ गते जेनजीको भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोगका कारण राष्ट्रवादी नेपालीहरूले सहादत प्राप्त गरेपछि म अत्यन्त भावविव्हल भएँ । यस्तो समयमा नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत पदमा बसिरहनु अनुचित ठान्दै भदौ २४ गते नै राजीनामा घोषणा गरेको थिएँ । तर प्राविधिक कारणले कानुनी प्रक्रिया तत्काल पूरा गर्न नसकिएकोले आज औपचारिक रूपमा सभामुख पदबाट राजीनामा दिएको छु ।’
उनको राजीनामा पत्र प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभा सचिवालयमा समेत बोधार्थ पठाइएको छ ।