प्रहरीले चलायो गोली, बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौं । आज मध्यान्ह १२:३० बजेदेखि राति १० बजेसम्म लागू हुने गरी काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जेनजी पुस्ताले गरेको आन्दोलनले चर्को रुप लिएपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यु आदेश जारी गरेका हुन् ।
प्रदर्शनमा जेन जी पुस्ताको नाममा घुसपैठ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनले तोकेको कर्फ्यु क्षेत्र
बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म ।
बानेश्वर चोकदेखि पूर्वतर्फ मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म ।
बानेश्वर चोकदेखि उत्तरतर्फ आइप्लानेट्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म ।
बानेश्वर चोकदेखि दक्षिणतर्फ संखमुल ओरालो हुँदै संखमुल पुलसम्म।
जेनजीको आन्दोलनले निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गर्न थालेपछि कर्फ्यू आदेशसँगै प्रहरीले रबरको गोली चलाएको छ ।
प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएका थिए । अहिले प्रदर्शनकारीलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट हानिएको प्रहरीले बताएको छ ।