‘सरकारले हाम्रो कुरा सुन्दैन, गाडी चढ्ने सपना अधुरै भयो’

No ads found for this position
No ads found for this position

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब एक दशक बितिसक्दा पनि मुगुको मुगुमकार्मारोङ गाउँपालिका अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन । नेपालका ७५३ स्थानीय तहमध्ये सडक पहुँच नपुगेको एकमात्र स्थानीय तहका रूपमा रहेको यो गाउँपालिकामा सडक निर्माणको सुस्त गतिका कारण स्थानीयको गाडी चढ्ने सपना अझै अधुरै छ ।

गमगढीदेखि चीन सीमास्थित नाक्चेलाग्नासम्म पुग्ने ९९ किलोमिटर सडकको विस्तृत सर्वेक्षण २०६२/६३ सालमै सम्पन्न भएको थियो । त्यसबेला करिब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना २०६६ सालबाट निर्माण सुरु भए पनि १८ वर्षमा जम्मा १८ किलोमिटर मात्रै सडक निर्माण भएको छ । सडक हाल मुगुमकार्मारोङ गाउँपालिका–८ को माग्री डाँडासम्म पुगेको छ ।

हालसम्म राज्यकोषबाट २० करोड रुपैयाँभन्दा बढी खर्च भइसके पनि यही गतिमा काम अघि बढे सडक पूरा हुन अझै चार दशकभन्दा बढी लाग्ने स्थानीयको आकलन छ । सडक पूर्वाधारलाई आर्थिक तथा सामाजिक विकासको आधार मानिए पनि भौगोलिक विकटता, कठिन भूगोल र सीमित बजेटका कारण स्थानीय अझै घोडा, खच्चर र मान्छेकै पिठ्युँमा सामान ढुवानी गर्न बाध्य छन् । दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्रीसम्म पु¥याउन कठिनाइ भइरहेको छ ।

सडक निर्माण भइरहे पनि गमगढीदेखि माग्री डाँडासम्म वर्षायाममा धेरै स्थानमा सडक अवरुद्ध हुने गरेको छ । माग्री डाँडामा सडक निर्माणका क्रममा बाटो बन्द हुँदा पालिका केन्द्र पुलुसम्म पुग्न स्थानीयले ज्यान जोखिममा राखेर आवतजावत गर्नुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ । स्थानीय सोनाम लामाका अनुसार सरकार फेरिए पनि मुगुमकार्मारोङका नागरिकको समस्या भने जस्ताको तस्तै रहेको छ ।

सङ्घीय सरकारले हाम्रो कुरा सुन्दैन

मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले दुई कार्यकाल बित्न लाग्दा पनि सडक निर्माणलाई तीव्र बनाउन पटक–पटक सङ्घ, प्रदेश र जिल्ला तहमा पहल गरे पनि अपेक्षित बजेट नपाएको बताए ।

उनले ‘बोल्नेको पिठो बिक्री हुन्छ, नबोल्नेको चामल बिक्री हुँदैन’ भन्ने उखान उद्धृत गर्दै पालिकाले निरन्तर आवाज उठाए पनि सङ्घीय सरकारले प्राथमिकता नदिँदा आयोजना कछुवा गतिमा अघि बढेको बताए ।

नेपाली सेनासँग सहकार्य गरेर चट्टान फुटाइँदै

मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीका अनुसार माग्री डाँडामा रहेको कडा चट्टानका कारण सडक निर्माणमा समस्या आएको छ । त्यसलाई ब्लास्टिङ गरेर हटाउन नेपाली सेनासँग सहकार्य भइरहेको र आगामी एक महिनाभित्र उक्त खण्डमा काम अघि बढाउने लक्ष्य रहेको उनले जानकारी दिए ।

चीनको सीमा नाक्चेलाग्नासम्म जोडिने रणनीतिक महत्वको यो सडक समयमै सम्पन्न भए मुगुमकार्मारोङका बासिन्दाले पहिलोपटक सडक यातायातको प्रत्यक्ष सुविधा पाउने अपेक्षा गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *