एमालेको प्रश्न : प्रधानमन्त्रीलाई संसदमा बोलाउन हेल्लो सरकारमा निवेदन हाल्नुपर्ने हो?
काठमाडौं । नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सरकारको ‘हेल्लो सरकार’ मा निवेदन दिनुपर्ने हो ? भन्दै प्रश्न गरेकी छिन् ।
‘नेपालले पनि भारतको धेरै ठाउँमा जमिन मिचेको रहेछ’ भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिपछि प्रतिपक्षी दलहरूले संसदमा उनको अभिव्यक्ति सच्चिनुपर्ने भन्दै माग भए पनि प्रधानमन्त्रीले वास्ता नगरेपछि अर्यालले यस्तो व्यङ्ग्य गरेकी हुन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै एमाले सांसद अर्यालले वर्तमान सरकारका १०० दिनमै महँगीले सगरमाथा छुने खोजेको, जनताको चूल्हो चिसिएको, सरकारलाई जवाफदेहि बनाउन संसद दिनैपिच्छे आन्दोलनरत रहेको बताएकी छन् ।
अर्यालले हेल्लो सरकारमा आएका गुनासाको ६० प्रतिशत सुनुवाई सकिएकोमा सरकार रोमान्चित भइरहेको पनिब बताइन्। ‘प्रतिपक्षी सरकारलाई जवाफदेही बनाउन दिनपिच्छे आन्दोलनरत छ। सरकारको प्रतिवेदन भन्छ हेल्लो सरकारका ६० प्रतिशत सुनुवाई सकियो भनेर सरकार रोमान्चित भइरहेको छ। मलाई सोध्न मन लाग्छ के सम्माननीय प्रधानमन्त्रीज्यूलाई यो संसदमा उपस्थित बनाउनका निम्ति हामीले पनि हेल्लो सरकारमा निवेदन हाल्नुपर्ने हो ?’, उनले भनिन्।
सरकारले सुकुम्वासीको व्यवस्थापन भइरहेको भने पनि काठमाडौंका गल्ली र चोकचोकहरूमा उनीहरू अलपत्र रहेको अर्यालको भनाइ छ।


