सरकारले सुकुमवासीको नाममा गरिबलाई दुःख दिने काम बन्द गरोस्: सांसद बिक
काठमाडौं । नेकपा एमालेकी सांसद विष्णुमाया बिकले सुकुमवासी बस्तीमा डोजर चलाएर सरकारले गरिब भगाउने नीति लिएको भन्दै कडा आपत्ति जनाएकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले काभ्रेको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरूको दयनीय अवस्थाबारे सदनको ध्यानाकर्षण गराइन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको तर्फबाट उक्त सेन्टरको अवलोकन भ्रमण गरेको जानकारी दिँदै सांसद बिकले त्यहाँ १ सय १० जना सुकुमवासी नागरिकहरू अत्यन्तै कष्टकर अवस्थामा रहेको बताइन् ।
‘१ सय १० जना सुकुमवासी नागरिक रहेको उक्त सेन्टरमा नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने २२ जना र स्नातक तहमा अध्ययनरत ५ जना विद्यार्थीहरू छन्,’ उनले भनिन्, ‘बस्तीमा डोजर चलेदेखि उनीहरूको पढाइ पूर्ण रूपमा ठप्प भएको छ । उनीहरू त्यहाँ बन्दीजस्तै गरी बसेका छन्।’
उनले सेन्टरमा रहेका थुप्रै दीर्घरोगीहरूले समयमा चिकित्सकको परामर्श र आवश्यक औषधि समेत पाउन नसकेको उल्लेख गरिन् । घरमा डोजर चलेपछि विस्थापित भएका मिलन तामाङले मानसिक सन्तुलन गुमाएको जानकारी दिँदै उनले भनिन्, ‘मिलन तामाङ डोजरले घर भत्काएदेखि मानसिक सन्तुलन गुमाएर बसिरहेका छन् । उनको तत्काल उपचार गर्न र विद्यार्थीहरूको पठनपाठन अगाडि बढाउन म सरकारसँग जोडदार माग गर्दछु।’
सांसद बिकले काठमाडौंबाट सुकुमवासी हटाउने सरकारको शैलीप्रति लक्षित गर्दै गरिबलाई दुःख दिने काम बन्द गर्न आग्रह गरिन्। उनले भनिन्, ‘यो सरकारले काठमाडौंबाट गरिब भगाउने नीति लिएको देखिन्छ, जुन सरासर गलत छ । सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ।’
उनले विस्थापित नागरिकहरूको उचित व्यवस्थापन र आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारले तत्काल कदम चाल्न माग गरिन् ।


