कोशी प्रदेशको सरकार फेरबदल हुन सक्छ: गगन थापा
विराटनगर । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कोशी प्रदेशमा केही दिनभित्रै सरकारको नेतृत्व परिवर्तन हुन सक्ने संकेत दिएका छन् ।
नेपाली कांग्रेसद्वारा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थाले छिट्टै नयाँ समीकरणतर्फ जाने संकेत गरेका हुन् ।
थापाले प्रदेश र स्थानीय तहमा कांग्रेसको बलियो उपस्थिति रहेको उल्लेख गर्दै जनताका अपेक्षा पूरा गर्न नेतृत्व परिवर्तन आवश्यक हुन सक्ने धारणा राखे।
‘हामी प्रदेश र स्थानीय निकायमा सबैभन्दा बढी छौं, कतिपय प्रदेशमा नेतृत्व कांग्रेसको हातमा छ, बाँकी ठाउँमा पनि केही दिनमै हुने छ,’ उनले भनेका छन् ।
उनले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने स्पष्ट पार्दै सरकारका कामकारबाहीप्रति कडा निगरानी राख्ने चेतावनी दिए ।
थापाले निर्वाचनमा पराजय बेहोरे पनि पार्टी पुनः संगठित भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे। ‘हामी हारेर पनि पुनर्जीवित हुन्छौं, अझ मजबुत भएर अगाडि बढ्छौं,’ उनले भने।
कार्यक्रममा जरा अभियानको चर्चा गर्दै सभापति थापाले कांग्रेसका साथीहरु भौतिक रुपमा उपस्थित भएर अद्यावधिक गरिने प्रष्ट पारेका छन् ।
थापाले भने,‘हामीले सबैले भरिदिने फारमलाई एसपटक आफैंले भर्नुपर्ने बातावरण बनाएका हौं ।’
कार्यक्रममा कांग्रेसकी उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायत नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।


