मलाई गगन थापाको ससुरा भनी ट्याग लगाएर बदनाम गरियो : अर्जुननरसिंह केसी
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं समानुपातिक सांसद अर्जुननरसिंह केसीले ससुरा-ज्वाइँको ट्याग भिराएर आफू र पार्टी सभापति गगनकुमार थापामाथि प्रहार गर्न खोजिएको आरोप लगाएको बताएका छन् ।
आफूलाई पार्टी सभापति थापाको ससुरा भएकै कारण अवसर पाएको भनि हुने गरेका टिप्पणीले आफूलाई फरक नपर्ने बताए । वि.स. २०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’ विरुद्ध पर्चा बाँड्दै गर्दा आफूले जेल जीवन सुरु गरेको र पार्टी जीवनमा आफ्नो छुट्टै पहिचान भएको उनको दाबी छ ।
उनले पार्टी निर्माण र लोकतन्त्र संस्थागत गर्न आफूले गरेको योगदानबारे थाहा नभएकाहरुले सभापति थापाको ससुराको रुपमा मात्र चिन्ने गरेको भन्दै तिनीहरुलाई जवाफ दिइरहनुनपर्ने बताए । उनले पशुपति दर्शन छिद्राको व्यापार भनेजस्तै आफ्नो नाम सभापति थापासँग जोडेर हुने गरेको टिकाटिप्पणीहरु बनीबनाउ षड्यन्त्र भएको बताए ।
उनले नेपाली कांग्रेसभित्रै बाट आफ्नो पहिचान गगन थापाको ससुराको रुपमा मात्र सिमित गर्ने प्रयास गरिएको भन्दै आपत्ति समेत जनाए । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईराला, नेतृ शैलजा आचार्य र पूर्वप्रधानमन्त्री सुशील कोईरालासहितको प्रसंग निकाल्दै केसीले पार्टीमा कयौँ नेताहरुले आफ्नै योगदानका आधारमा भुमिका पाएको भन्दै पारिवारिक सम्बन्धलाई मात्र आधार बनाएर आलोचना गर्नु उचित नहुने बताए ।
पार्टी निर्माण र व्यवस्था पुनःस्थापनाका लागि आफूले गरेको योगदानबारे सबैलाई जानकारी गराएर सञ्चारकर्मीहरुले आफूलाई न्याय गर्नुपर्ने उनको भनाइ छ । उनले आफू रुपान्तरण र पुस्तान्तरणको वकालत गर्ने भएकै कारण विशेष अधिवेशनको पक्षमा उभिएको दाबी गरे । उनले कांग्रेस बद्लिएको हेर्न नचाहानेहरुले आफूमार्फत सभापति थापामाथि प्रहार गर्न खोजेको भन्दै त्यसले केही फरक नपर्ने बताए।


