प्रचण्डले सञ्चार मन्त्रीलाई भने- निर्वाचन जसरी पनि हुनुपर्छ
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तोकिएको मितिमा निर्वाचनमा सम्पन्न गर्नुको विकल्प नरहेको बताएका छन् ।
शुक्रबार हात्तिवनस्थित निवासमा पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा उनले फागुन २१ गते जसरी पनि निर्वाचन सम्पन्न गर्नुपर्ने बताए ।
उनले सो निर्वाचन सम्पन्न गराउनका लागि आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको सञ्चारमन्त्री खरेलले जानकारी दिए । त्यस अवसरमा दाहालले निर्वाचनका लागि आवश्यक तयारीको कामलाई तीव्रता दिन पनि सरकारलाई आग्रह गरेका थियो ।
सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन राजनीतिक संवाद समिति नै बनाएर प्रमुख तीन दलका शिर्ष नेताहरुसँगको भेटवार्तालाई निरन्तरता दिएको हो । यसैक्रममा (भोलि) शनिबार प्रधानमन्त्री सुशीला कार्कीले पनि देउवा, ओली र दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।


