राजनीतिमा अब युवाहरूको दबदबा बढ्छ : सञ्चारमन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली राजनीतिमा अब युवाहरुको दबदबा कायम हुने दाबी गरेका छन् ।
शुक्रबार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको सामाजिक जवाफदेहिताः मिडिया र युवा संवाद विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिमा युवाहरुको उपस्थितिलाई कसैले रोकेर नरोकिने बताए ।
उनले राजनीतिलाई नीतिहरुको राजा मान्ने हो भने समावेशिता, ३३ प्रतिशत महिला प्रतिनिधित्व कायम र युवाहरुको उपस्थिति अनिवार्य रहेको बताए ।
राजनीतिक दलहरुलाई युवाहरुलाई राजनीतिक नेतृत्वमा ल्याउनका लागि तयार नभइ सुख नरहेको उनले जिकिर गरे । घाटमा जाने बेलासम्म पनि आफैँ नेता बन्ने, आफैँ प्रमुख बन्ने, आफैँ प्रधानमन्त्री बन्ने, आफैँ अध्यक्ष बन्ने गरेको उनको भनाइ छ ।
मन्त्री खरेलले नेपालको वर्तमान स्थितिले युवा राजनीति र नेतृत्वमा जाज्वल्यमान उज्यालो ल्याउने बताए ।


