टुँडिखेलमा प्रधानमन्त्री कार्कीको सम्बोधन- लोकतान्त्रिक प्रणाली आवाज सुन्ने व्यवस्था हो (पूर्ण पाठसहित)

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जनताको आवाजको सुनुवाइ नै लोकतन्त्रको आत्म भएको बताएकी छिन् ।

प्रधानमन्त्री कार्कीले सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै लोकतान्त्रिक प्रणाली आवाज सुन्ने व्यवस्था हो भन्दै उनले संविधान दिवस संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने दिन भएको बताइन् ।

प्रधानमन्त्री कार्कीले विगतका उपलब्धि र कमजोरीको आत्ममूल्यांकन गर्दै आगामी दिनमा सुधारसहित अघि बढ्ने संकल्प गरिन  ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन

सम्माननीय राष्ट्रपतिज्यू,

सम्माननीय उपराष्ट्रपतिज्यू,

सम्माननीय प्रधान न्यायाधीशज्यू,

सम्माननीय सभामुखज्यू,

राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू,

उपस्थित विशिष्ट पदाधिकारीज्यूहरू,

कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिज्यूहरू,

जनप्रतिनिधिहरू,

राष्ट्रसेवकहरू,

सञ्चारकर्मीहरू,

आदरणीय दिदीबहिनी एवं दाजुभाइहरू,

१. आज हामी नेपाली जनताले चुनेका प्रतिनिधिहरूको संविधानसभाले बनाएको नेपालको संविधान जारी भएको दिनलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रूपमा उत्साहपूर्वक मनाउँदैछौं। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले एक दशक पुरा गरेको यस गौरवपूर्ण घडीमा सम्पूर्ण नेपाली जनतामा संविधान दिवस २०८२ को हार्दिक शुभकामना व्यक्त गर्दछु।

२. नेपालको वर्तमान संविधान नेपाली जनताले पटक पटक गरेका जनआन्दोलन, संघर्ष, त्याग र बलिदानवाट निर्माण भएकोले यो नेपाल र नेपालीको भाग्य, भविष्य र आकाङ्क्षालाई प्रतिविम्बित गर्ने मार्गदशक दस्तावेज हो। सङ्घीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता र सामाजिक न्याय जस्ता आधारभुत विशेषता अँगालेको नेपालको संविधान जारी भएको दिन हामी सवै नेपालीले गौरव गर्ने दिन पनि हो।

3. संविधान दिवस केवल उत्सव मात्र होइन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने दिन पनि हो। यो संविधान कार्यान्वयनमा आएको विगत एक दशकमा संविधानले मार्गदर्शन गरेको यात्रामा के हासिल गर्‍यौँ, के गर्न सकेनौं, यसबिचमा के कस्ता कमी कमजोरी रहे र आगामी दिनमा के कस्तो कार्यदिशा आवश्यक छ भन्ने सवालहरूको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने स्थिति छ।

४. संविधानले सङ्घ, प्रदेश र स्थानीय तहमा अधिकारको बाँडफाँट, जनताको पहुँचमा गुणस्तरीय र छरितो सेवा तथा स्थानीय नेतृत्वलाई सशक्त बनाउने आधार प्रदान गरेको छ। तथापि, सेवा प्रवाहमा समान पहुँच, पारदर्शिता, भ्रष्टाचार शून्यता, साधनस्रोत र प्रविधिको उच्चतम उपयोग, सार्वजनिक सेवाको लागत प्रभावकारिता, प्रतिफल सुनिश्चित हुने गरी विकास व्यवस्थापन जस्ता विषयहरू तीनै तहका सरकारका लागि साझा चुनौतीका रूपमा रहेका छन्। यी चुनौतीहरू सामना गर्न सरकार मात्र होइन, निजी क्षेत्र, नागरिक समाज, सामुदायिक तथा गैरसरकारी क्षेत्र, नेपालको समृद्धि र विकासमा हातेमालो गर्ने अन्तर्राष्ट्रिय समुदाय र प्रत्येक नागरिकको भूमिका अपरिहार्य हुन्छ।

५. २०८२ साल भदौ २३ र २४ गते जेनजी युवाहरूको अगुवाइमा भएको विरोध प्रदर्शन र आन्दोलन हाम्रा युवापुस्ताको चाहना, जनताको बढदो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब हो। संविधानको मर्म र भावनाबमोजिम सुशासन, समृद्धि र विकासको क्षेत्रमा भएका कमी कमजोरी र त्यसबाट सिर्जित असन्तोष, अभाव वा अपेक्षा पूरा नभएको कारणले पनि यो आन्दोलनको जन्म भएको कुरालाई हामीले स्वीकार गर्नु पर्दछ। यस आन्दोलनलाई मैले हाम्रो लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग पनि जोडेर हेर्ने गरेको छु। किनभने लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो।

६. जेनजी पुस्ताको आन्दोलन हामीले प्रतिवद्धता व्यक्त गरेको सङ्घीय गणतन्त्रात्मक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्य, सुशासन लगायतका लोकतान्त्रिक मूल्य मान्यतामा हामी खरो उत्रन नसक्नुको परिणाम पनि हो। सूचना प्रविधिमा भएको चामत्कारिक विकास, अन्तर्राष्ट्रियस्तरमा देखिएको नागरिकमैत्री शासन प्रणाली, खुला सरकार र भर्चुअल शासनको बारेमा जानकार रहेका युवापुस्ताले उठाएका रोजगारीको अवसर, गुणस्तरीय जीवनस्तर, सरकारका कामकारवाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकासजस्ता सवालहरू यथार्थमै हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डा हुन्। यी एजेण्डालाई आत्मसात् गर्दै जनअपेक्षाबमोजिम काम गर्न यो सरकार प्रतिबद्ध छ।

७. म कुनै शासकीय आकाङ्क्षा बोकेर, कुनै पदको लालचा लिएर प्रधानमन्त्री भएको होइन। देश सङ्कटमा रहेको बेला परिवर्तनकामी युवापुस्ताको अनुरोधसमेतका आधारमा चुप लागेर बस्न नसकी सङ्क्रमणको व्यवस्थापन गर्दै नेपालको संविधानबमोजिम छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचनमार्फत् जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेगरी म वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हुँ।

८. संविधान दिवसको यस घडीमा विगतका जनआन्दोलन र हालैको जेनजी आन्दोलनमा जीवनको आहुति दिने सबै शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु। साथै, यस जेनजी आन्दोलनमा घाइते व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आन्दोलनको दौरान सार्वजनिक एवं निजी सम्पत्ति र औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा हुन गएको अकल्पनीय र अपुरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु।

९. संविधानका अक्षरहरू स्थिर हुन सक्लान् तर यसको भावना र प्राण सधैं जीवन्त हुन्छ। समयसँगै नागरिकका आवश्यकता र आकाङ्क्षा परिवर्तन हुन्छन्। जनताका आकाङ्क्षा र अपेक्षाअनुरूप राज्यसंयन्त्र क्रियाशील हुनुपर्दछ। कमी कमजोरीमा आत्मालोचना गर्दै निरन्तर सुधारको बाटोमा अघि बढ्नु पर्दछ। जनताका भावना र अपेक्षा संविधानका अक्षरभन्दा अझ बढी बहुआयामिक र गतिशील हुन्छन्। जनआवाजलाई बेवास्ता गर्न वा अस्वीकार गर्न सकिन्न, सुनुवाइ गर्नुपर्छ। जनआवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा हो। यसका लागि आवश्यक पर्ने संस्थागत पुनर्संरचना र कानूनमा परिमार्जन गरी सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यलाई चुस्त, प्रभावकारी र जनमुखी बनाउन आवश्यक छ।

१०. पछिल्लो आन्दोलनले हामीलाई धेरै क्षेत्रहरूमा सुधार गर्न मार्गनिर्देश गरेको छ। युवापुस्ता आफू शासकीय प्रणालीमा सहभागी हुन चाहन्छ। विकसित देशका सफल शासकीय अभ्यासहरूलाई आफ्नो मुलुकमा देख्न चाहन्छ। नीतिगत तहमा आफ्ना विचार प्रतिविम्बित भएको हेर्न चाहन्छ। यसर्थ, संविधान दिवसको यस अवसरमा म यो सरकारले युवा, महिला, बालबालिका, फरक क्षमता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, मधेसी, थारू, पछाडि परेको वर्ग, समुदाय र सबै पुस्ताको भावना र अपेक्षालाई सम्बोधन गर्न दृढ सङ्कल्पका साथ निरन्तर काम गर्दै जाने विश्वास दिलाउन चाहन्छु।

११. हाम्रा अगाडि जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सार्वजनिक संरचनाहरूको पुनर्निर्माण गर्नुपर्ने एवं व्यावसायिक प्रतिष्ठानमा पुग्न गएको क्षतिबाट देशलाई माथि उठाउनु पर्ने चुनौती छ। विकासको संवाहकको रूपमा रहेको निजी क्षेत्रको मनोबल बढाउनु छ। तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु छ। यस सन्दर्भमा, क्षतिको पुनर्निर्माण र विकासको महाअभियानमा सहभागी हुन म सम्पूर्ण युवापुस्ता, राजनीतिक दलहरू, राष्ट्रसेवक कर्मचारीहरू, निजी क्षेत्र, विकास साझेदारहरू र आमनागरिकलाई आह्वान गर्दछु।

12. यस अवसरमा म विशेषतः युवापुस्तालाई आह्वान गर्न चाहन्छु कि तपाईँहरू परिवर्तनका वास्तविक वाहक हुनुहुन्छ। तपाईहरूको साहस, नवप्रवर्तनशील सोच र अटल प्रतिबद्धताले नै नेपाललाई नयाँ उचाइमा पुर्‍याउनेछ। आन्दोलनले उठाएका सवालहरू र शहीदका सपना पुरा गर्न हामीलाई प्राप्त छोटो अवधिमा उपलब्ध साधनस्रोतको उच्चतम प्रयोग गर्दै गर्नुपर्ने कानुनी, संस्थागत, नीतिगत सुधार गरी जनअपेक्षा अनुसारका काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। तपाईंहरूको आवाज सुन्ने, आत्मसात् गर्ने र व्यवहारमा उतार्ने कुरामा यो सरकार कटिबद्ध छ।

१३. शासकीय शैलीप्रति जनताका असङ्ख्य गुनासा, आक्रोश र असन्तुष्टिहरू छन्। यी असन्तुष्टिलाई एकैचोटि सम्बोधन गर्न कठिन भए तापनि वर्तमान सरकारले आफ्नो श्रोत, साधन र क्षमताले भ्याएसम्म ती समस्याको समाधान गर्न इमान्दार प्रयास गर्नेछ। संविधान दिवसको यस अवसरमा म सबैलाई वर्तमान सरकार नागरिकप्रति पूर्ण जवाफदेही रहने प्रतिबद्धता व्यक्त गर्दै नागरिक पनि आफ्ना कर्तव्यप्रति सचेत रहनु हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु।

१४. २०६२-६३ सालको ऐतिहासिक जनआन्दोलनको जगमा निर्माण भएको नेपालको वर्तमान संविधानले विश्वलाई “नेपाली जनता आफ्नो भाग्य आफै कोर्न सक्षम छन्” भन्ने सन्देश दिएको थियो। अहिले हामीले संविधानमा परिवर्तन भन्दापनि संविधानको मर्म र भावना बमोजिमको कर्मको अझ बढी अपेक्षा गरेका छौं। त्यसको लागि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, कम खर्चिलो एवं भय रहित वातावरणमा सम्पन्न गरी युवापुस्ता लगायत सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सिर्जना गर्नुपर्ने आवश्यकता छ। निर्वाचन एउटा यान्त्रिक प्रक्रिया मात्र होइन, यो आगामी पाँच वर्षको लागि नागरिकहरूको इच्छा, आकाङ्क्षा र विश्वास हस्तान्तरण गर्ने महत्त्वपूर्ण कडी पनि हो। सो अभिभारा पूरा गर्न सबै सरोकारवाला राजनीतिक दल, मतदाता, सरकारी संयन्त्र र आमनागरिकवाट खुला हृदयले सहयोग हुनेछ भन्ने मैले विश्वास लिएको छु।

१५. संविधान दिवसले हामीलाई नयाँ सङ्कल्प गर्न प्रेरित गरोस्, लोकतन्त्र अझ मजबुत होस्, हाम्रो सामाजिक न्याय सुनिश्चित होस्, हाम्रो आर्थिक समृद्धि साझा होस् र हाम्रो राष्ट्र सबै नागरिकको साझा घर बनोस् भन्ने कामना गर्दछु। साथै, शासकीय सुधारको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सरकार प्रतिवद्ध रहेको दोहोर्‍याउदै परिवर्तनका लागि जीवन अर्पण गर्ने सम्पूर्ण शहीदहरू, जेनजी पुस्ता लगायत आमनागरिकलाई म हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

१६. अन्त्यमा, सम्पूर्ण नेपाली जनतामा संविधान दिवस २०८२ को हार्दिक शुभकामना व्यक्त गर्दछु।

धन्यवाद।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *