विमानस्थल भन्सारका १३७ कर्मचारीले सरुवा माग गर्दै महानिर्देशकलाई बुझाए निवेदन

No ads found for this position
No ads found for this position

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत १३७ जना कर्मचारीले सरुवा माग्दै भन्सार विभागका महानिर्देशक लाइ सामूहिक निवेदन दिएका छन् ।

मंगलबार ३५ अधिकृतसहित १३७ कर्मचारीले एकैसाथ सरुवा मागेका हुन् ।

कर्मचारीहरुले निवेदनमा ६० किलो सुन प्रकरणलाई लिएर अनुसन्धान र छानबिनको वहानामा विनाकारण दुःख दिने र मानसिक रुपमा क्षतविक्षत बनाउने काम भएको भनिएको छ । साथै उनिहरुले मागको उचित सम्बोधन नभएमा कार्यालयको नियमित काम समेत प्रभावित हुन सक्ने व्यहोरा समेत अवगत गराएका छन् ।

निवेदन यस्तो छ-

मिति- २०८०/०५/१२
श्रीमान् महानिर्देशक ज्यू, भन्सार विभाग

विषय:- सामूहिक सरुवा सम्बन्धमा ।

सम्बन्धित विषयमा हामी त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले निरन्तर रुपमा आफ्नो कर्तव्य निर्वाह गर्ने शिलशिलामा रात दिन नभनी २४ सै घण्टा सार्वजनिक विदाका दिनहरुमा समेत कुनै अतिरिक्त सेवा सुविधा नलिई प्रचलित कानुन बमोजिम नियमित रुपमा कामकाजमा खटिएका छौं ।

कामकाजको शिलशिलामा भन्सार राजस्व उठाउँदा यात्रु शाखामा यात्रुबाट हुने दुर्व्यवहार र अपशब्दको त कुनै सीमा नै छैन । भन्सार जाँचपास प्रक्रियामा राज्यबाट उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी रीतपूर्वक जाँचपास हुने मालवस्तुको संवेदनशीलतालाई समेत मध्येनजर राखी आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म असल नियत र मनसायका साथ कार्यजिम्मेवारी पूरा गर्दै आएकोमा पछिल्लो परिवेशमा सिर्जित लगभग ६० किलो सुन भन्सार चोरी/छली जाँचपास भएको भन्ने घटनाक्रम पश्चात् विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरुबाट हामीहरुलाई विनाकारण दुःख दिने तथा मानसिक रुपमा क्षतविक्षत बनाउने कार्यले कार्यालयमा रही कामकाज गर्न कठिनाई भएको महसुस भएको छ ।

सो घटनामा दोषी जो कोहीलाई कानुन बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो कुनै द्विमत रहेन तर कर्तव्य पालनको शिलशिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक रुपमा धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदै समेत पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भई तोकिएको कार्यजिम्मेवारी पुरा गर्न हामी कर्मचारीहरुमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ ।

स्वयं हामी तथा हाम्रा घर, परिवार कुन मानसिक तनाबबाट गुज्रिरहेका छौं त्यो कसैले कल्पना गर्न सक्दैन । विनाकारण भोग्नुपरेको मानसिक तनावका कारण घर परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको छ । हामी सँग सरोकार राख्ने विभिन्न निकायहरुले हामीप्रति हेर्ने दृष्टिकोण समेत पूर्ण रुपमा नकारात्मक हुँदै गएको अवस्था छ । यस्तो विषम परिस्थितिमा पनि आफ्नो व्यक्तिगत जीवन थाती राखी घर, परिवार, समाज नभनी राज्यको सेवामा निरन्तर रुपमा खटिएका छौं ।

“दोषीलाई कारबाही गर, निर्दोषीलाई रिहा गर” भन्ने सर्वमान्य मान्यता अवलम्बन होस् भन्दै यी तमाम परिस्थितिका वाबजुत कार्यालयमा नियमित रुपमा उपस्थित भई कामकाज गर्ने मनोविज्ञान तथा वातावरण नरहेको हुँदा हामी तपसिलका कर्मचारीहरुको यस भन्सार कार्यालयबाट सामूहिक सरुवा गरिदिनुहुन श्रीमान् समक्ष विनम्र अनुरोध गर्दछौं । साथै हाम्रा मागको उचित सम्बोधन नभएमा कार्यालयको नियमित कार्य सम्पादन प्रभावित हुन सक्ने अवस्था सिर्जना हुन सक्ने व्यहोरा समेत अवगत गराउछौं ।

यस्तै निवेदनलाई उनिहरुले अर्थ मन्त्रालय र त्रिभुवन विमानस्थल भन्सार कार्यलयला बोधार्थ गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *