पोखरा विमानस्थल बीआरआई अन्तर्गत बनेको चीनको दाबी, राष्ट्रपतिका परराष्ट्र विज्ञ चालिसेलेको समर्थन !

सरकार भन्छ- पोखरा विमानस्थल बीआरआई अन्तर्गत बनेको होइन

No ads found for this position
No ads found for this position

सरकार भन्छ- पोखरा विमानस्थल बीआरआई अन्तरगत बनेको होइन

काठमाडौं- सन् २०१७ मार्चमा हस्ताक्षर भएको चिनियाँ राष्ट्रपति सी जिनपिङको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका परियोजना कार्यान्वयन विषयमा नेपाल सरकार अहिले सम्म कुनै ठोस निर्णयमा पुग्न सकेको छैन ।

बीआरआई सम्झौतामा हस्ताक्षर भएको करिब सात वर्ष बितिसक्दा पनि यस अन्तरगत नेपालमा कुनै परियोजना अघि बढ्न सकेको छैन । तर नेपालमा चीनबाट भएका जति पनि योजनाहरू छन् चिनियाँ पक्षले भने ती सबै आयोजना बीआरआईअन्तर्गत भएको दाबी गर्दै आएको छ ।

केही महिनाअघिमात्र सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तरगत बनेको चीनको दाबी छ ।

६ असार २०८० बाट सञ्चालनमा आएको विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । उद्घाटन पछि कार्यक्रममा चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तरगत भएको दाबी गरेका थिए । उनले भने, ‘पोखरा विमानस्थलको डिजाइन र निर्माण चिनियाँ कम्पनीले गरेको हो र यो बीआरआई परियोजना अन्तरगत बनेको हो ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई आयोजना अन्तरगत बनेको चीनले दाबी गरे पनि नेपाल सरकारले भने यो अस्वीकार गर्दै आएको छ । यस विषयमा सदनमै बहस चल्यो ।

पोखरा विमानस्थल बिआरआई अन्तर्गत बनेको होइन : पर्यटनमन्त्री किराती

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआईअन्तर्गत नरहेको प्रस्ट पारिसकेका छन् । ११ असार २०८० को प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सोधेको प्रश्नको जवाफ दिँदै उनले यो योजना बिआरआईअन्तर्गत नरहेको बताएका थिए ।

मन्त्री किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई सम्झौता हुनुअघि सन् २०१२ बाटै निर्माणकार्य सुरु भएको बताएका थिए । संसारहरुलाई थाहा भएको कुरामा नअल्मलिन उनले आग्रह समेत गरेका थिए ।

बैठकमा मन्त्री किरातीले भने, ‘छ्यापछ्याप्ती छ त । फेरि संसदमा यही कुरा उठ्छ । बिआरआई सम्झौता त २०१७ मा भएको हो । पोखरा एयरपोर्टको निर्माण २०१२ मै सुरु भएको हो । अनि यो कसरी बिआरआई भयो ?’ संसारले यो बिआरआई होइन भनिरहेको छ । सांसदहरू यसमै अल्मलिएका अल्मलियै छन् । बिआरआई हो कि, के हो यो ? भनी प्रश्न गर्दै सदनमा धेरै ध्वनी प्रदूषण नगर्न उनले आग्रह गरेका थिए ।

बीआरआई सम्बन्धी कुनै निर्णय भएको छैन : परराष्ट्रमन्त्री साउद

यस्तै परराष्ट्रमन्त्री एनपी साउदले बीआरआई कार्यान्वयनका लागि छलफल भइरहेको बताएका छन् ।

२८ असार २०८० बिहीबार बसेको राष्ट्रियसभा बैठकमा मन्त्री साउदले भने, ‘नेपाल र चीनबिच बीआरआई कार्यान्वयन योजनामा छलफल जारी छ । सन् २०१७ मा बीआरआई सम्बन्धी सम्झौता भएको थियो । यद्यपि बीआरआईका कुन-कुन परियोजनालाई कसरी अघि बढाउने भन्ने विषयमा भने कुनै निर्णय हुन सकेको छैन ।’

मन्त्री साउदले चीनका तत्कालीन विदेश मन्त्री वाङ यीको मार्च २०२२ मा सम्पन्न नेपाल भ्रमणमा हस्ताक्षर भए अनुसार केरुङ-काठमाडौं रेलवेको सम्भाव्यता अध्ययन तथा दुई देशबिच अन्तर्देशीय विद्युत प्रसारण लाइनको सम्भाव्यता अध्ययन भइरहेको बताएका थिए ।

बीआरआई चाँडै कार्यान्वयन गर्न चिनियाँ उच्चअधिकारीहरुको दबाव

पछिल्लो समय चिनियाँ पक्षले नेपालमा बीआरआई चाँडै कार्यान्वयन गराउन जोड दिँदै आएको छ । १३ असार २०८० मा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा गएका थिए । उक्त भेटमा चिनियाँ उच्चस्तरीय अधिकारीले नेपालमा बीआरआई कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।

यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना चीन भ्रमणमा रहेका बेला पनि चिनियाँ उच्चस्तरीय अधिकारीले नेपालले बीआरआई चाँडै कार्यन्वयन गर्नुपर्नेमा जोड दिएका थिए । चीन भ्रमणबाट फर्किदा चीनको छेन्दुबाट छुटेको सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३११ जहाजबाट श्रेष्ठ र तिमिल्सिना चिनिया टोलीसँगै पोखरा विमानस्थलमा अवतरण गरेका थिए ।

राष्ट्रपतिका परराष्ट्र विज्ञ चालिसेको बीआरआई समर्थक त्यो ट्वीट

राष्ट्रपति रामचन्द्र पौडेलका परराष्ट्र विज्ञ डा. सुरेश चालिसेले गत ३१ असार २०८० मा एक विवादित विषयको बारेममा प्रकाशित बिआरआई सम्बन्धी समाचार ट्वीट गरे । उक्त समाचारमा चिनिया पक्षले पोखरा अन्तर्राष्ट्रिय विमान स्थल बिआरआई अन्तरगत बनेको हो भन्ने दाबी गरिएको छ ।

चालिसेको यो ट्वीट बाट पोखरा अन्तर्राष्ट्रिय विमान स्थल बिआरआई अन्तरगत बनेको हो भन्ने पक्षमा देखिएको अनुमान गर्न सकिन्छ । उक्त समाचारमा चालिसे र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ बिच भेट वार्ता भएको तस्बिर पनि छापिएको छ ।

उक्त समाचारमा भनिएको छ- हालै चिनियाँ राजदूत चेन सोङसँग भेट गरेका वरिष्ठ कूटनीतिज्ञका अनुसार चिनियाँ पक्षले नेपालमा बनेका सबै आयोजनाहरू बीआरआई अन्तरगत बनिरहेको दाबी गरेको छ ।

समाचारमा नेपाल बीआरआई सदस्य बनेपछि जे सहयोग हुन्छ, त्यो बीआरआई अन्तरगत हुने चीनया पक्षको धारणा छ । यसमा पूर्वाधार आयोजनाको विकास मात्र होइन, कोभिड-१९ महामारीको बेला नेपालले प्राप्त गरेको सहयोग पनि बीआरआई अन्तरगत आएको भनिएको छ ।

चालिसे अमेरिका र बेलायतका पूर्वराजदुत पनि हुन् । कूटनीति बुझेका राष्ट्रपतिका परराष्ट्र विज्ञ चालिसेले सरकार विरुद्धको यस्तो समाचार ट्वीट गर्नुलाई अर्थपूण रूपमा लिइएको राष्ट्रपति कार्यालयमा कार्यरत एक कर्मचारीले नागरिक प्रेसलाई बताए । यस्तै चालिसेले कुनै जानकारी नगराई परराष्ट्रका प्रतिनिधि विना सुटुक्क चीनका राजदूतलाई भेट्नु कूटनीतिक मर्यादाको पालना नगरेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘पोखरा विमानस्थल बीआरआई अन्तर्गत बनेको भन्ने विषयमा प्रतिनिधि सभा बैठकमै बहस चल्यो । जवाफमा पर्यटनमन्त्री सुदन किरातीले यो योजना बीआरआई अन्तर्गत नभएको भनि सरकारको तर्फबाट स्पष्ट जवाफ दिइसक्नु भएको छ, तर राष्ट्रपतिको परराष्ट्र विज्ञले यस विवादित विषयमा मुछिएर ट्वीट गर्नु चाइना र बीआरआई प्रति वाहाँको कूटनीतिक समर्थन देखियो ।’

नेपालमा बीआरआईको बहस चलिरहेको बेला चालिसेले यसरी आफ्नो पदको हेक्का नराखी संवेदनशील विषयमा ट्वीट गरिनुले बीआरआईलाइ समर्थन गरेको देखियो भने राष्ट्रपति कार्यालयको धज्जी उडाएको उनको बुझाइ छ ।

डा. चालिसेले ३ देशका राजदूत सँग सुटुक्क भेट गरे तर उनले ट्वीटरमा चीनका राजदूतसँग मात्र भेटेको तस्बिर सार्वजनिक गरे । यसबाट कूटनीतिक मर्यादाको पालना भङ्ग भएको देखिएको छ । यस्तै उनको भेटलाई गोप्य राखिएको छ भने भेटमा परराष्ट्र मन्त्रालयका कुनै पनि प्रतिनिधि उपस्थित भएको पाइएन । यस्ता गोप्य भेटघाटले हाम्रो परराष्ट्र नीतिमा कस्तो प्रभाव पार्छ ? राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेश चालिसेले बुझ्न जरुरी छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *