रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

No ads found for this position
No ads found for this position

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेको छ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी विधानअनुसार निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग रिक्त राख्न नमिल्ने व्यवस्था भएकाले निर्वाचन आयोग र लेखा आयोगको जिम्मेवारी पुरानै टोलीलाई निरन्तरता दिँदै अनुशासन आयोगमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो।

सहमहामन्त्री हरि ढकालले पार्टी विधानअनुसार तीनवटै आयोग पहिलो बैठकबाटै गठन हुनुपर्ने भएकाले उक्त निर्णय गरिएको जानकारी दिए।

उनले भने, ‘हाम्रो विधानअनुसार पहिलो बैठकबाट नै निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग रिक्त रहन हुँदैन। त्यसैले निर्वाचन र लेखा आयोगको जिम्मेवारी पुरानै टिमलाई दिएर अनुशासन आयोगमा लेखनाथ पौडेललाई नियुक्त गरेका छौँ।’

ढकालका अनुसार बैठकले हालै सम्पन्न महाधिवेशन सफल बनाउन खटिएका विभिन्न उपसमिति, सुरक्षा निकाय, सञ्चारकर्मी तथा सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय पनि गरेको छ।

यसैबीच, केन्द्रीय समितिको बैठकले पार्टीका बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गर्ने जिम्मेवारी सभापति रवि लामिछानेलाई दिएको छ।

सहमहामन्त्री निशा डाँगीले रिक्त रहेका पदमा मनोनयन गर्ने अधिकार पार्टीले सभापति लामिछानेलाई सुम्पिसकेको बताइन्।

उनले भनिन्, ‘बाँकी केन्द्रीय सदस्यहरू मनोनयन गर्ने जिम्मेवारी हामी सबैले पार्टी सभापतिलाई सुम्पिसकेका छौँ। उहाँले क्रमशः मनोनयन गर्नुहुन्छ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *