विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिटउपर बहस सकिएको छ।
पौडेल पत्नी दोमाया पौडेलले दायर गरेको रिटउपर सुनुवाइको लागि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेशी चढाएका थिए । रिटमा राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएको भन्दै दोमायाले रिहाइको आदेश माग गरेकी छन् ।
बहसको क्रममा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, रमेश बडाल, ईश्वरी भट्टराईलगायतले पौडेललाई जरुरी पक्राउ पुर्जी जारी गर्नुपर्ने अवस्था नभएको बताएका छन् । व्यापारी दीपक भट्टसँग कुनै कारोबार भएको नदेखिएको अवस्थामा जसले पोल्यो उसलाई पक्राउ नगरी पौडेललाई मात्र पक्राउ गरिनु गैरकानूनी र प्रतिशोधपूर्ण भएको जिकिर गरिएको छ ।
पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दिपक भट्ट र कमलकिशोर मालपानी समूहको शेयर लेनदेनमा चिनजान गराइदिएको बयानका आधारमा पक्राउ गरी मंगलबार ५ दिनको म्याद थप गरेको थियो ।
पौडेललाई सोमबार सुर्खेतमा कार्यक्रममा सहभागी भइरहेको बेला पक्राउ गरी रातारात सार्वजनिक गाडीमा राखेर काठमाडौं ल्याइएको थियो ।


