कृषि नै विकासको प्रमुख आधार हो : मन्त्री पौडेल

No ads found for this position
No ads found for this position

काठमाडौं । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले स्थानीय तहमा रोजगारी सिर्जना नगरेसम्म विकासको वास्तविक अर्थ जनताले अनुभूति गर्न नसक्ने बताएका छन् ।

कृषिमा अन्तरप्रदेश सम्बन्ध र सहकार्य विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको जस्तो देशका लागि कृषि नै विकासको प्रमुख आधार भएको उल्लेख गरे ।

उनले भने, ‘स्थानिय तहमा रोजगारी सिर्जना नगरेसम्म विकासको अर्थ जनताले बुझ्न सक्दैनन् । हाम्रो जस्तो मुलुकको लागि विकासको सबैभन्दा महत्वपूर्ण कुरा जुन रोजगारीसँग जोडिएको छ त्यो कृषि नै हो । कृषि आधारित उद्योग र कृषि आधारित कर्म नै हाम्रो जस्तो मुलुकका लागि विकासको प्रमुख आधार हो ।’

उनले कृषि आधारित उद्योग र कृषि कर्ममार्फत रोजगारी सिर्जना गर्न सकिने भएकाले यस क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताए ।

मन्त्री पौडेलले मल अभावको समस्या अझै समाधान हुन नसकेको पनि बताए । उनले रासायनिक मलको खरिद केन्द्र सरकारले गर्ने र प्रदेश सरकारले वितरण गर्ने व्यवस्था भए पनि बागमती प्रदेशका लागि आवश्यक मल पर्याप्त मात्रामा उपलब्ध हुन नसकेको बताए । उनले बागमती प्रदेशलाई वार्षिक करिब १ लाख १३ हजार मेट्रिक टन मल आवश्यक पर्ने जानकारी दिए ।

उनले भने, ‘मलको कुरा सधैं उठ्दै आएको छ । केन्द्र सरकारले मल खरिद गर्छ । प्रदेश सरकारले वितरण गर्ने मात्रै हो । १ लाख १३ हजार मेट्रिक टन बागमती प्रदेशलाई मलखात आवश्यक छ । त्यो अपुग छ । यसमा सबैभन्दा बढी ध्यान दिनुपर्ने छ ।’

उनले रासायनिक मलसँगै जैविक तथा प्राङ्गारिक मलको प्रयोगमा पनि जोड दिनुपर्ने बताए । कृषि उत्पादन वृद्धि र दिगो विकासका लागि सबै तहका सरकार र सरोकारवालाले यस विषयमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *