भेरी-बबई डाइभर्सन- चौथो पटक म्याद थप्दा पनि आधा काम भएन
सुर्खेत । राष्ट्रिय गौरवको आयोजना भेरी-बबई डाइभर्सन निर्माणमा ढिलाइ भएको छ । तेस्रो पटक म्याद थप गरिएको आयोजनाको अवधि चैत २० गते सकिए पनि आयोजना निर्माणको आधा काम अझै सकिएको छैन । आयोजनाको काम नसकिए पछि चौथो पटक ठेक्काको म्याद थप गर्ने तयारी भइरहेको छ । आयोजनाको काम आधा बाँकी रहेपछि ठेक्का सम्झौताका लागि आयोजनाले पहल गरेको जनाइएको छ ।
आयोजनाका सूचना अधिकारी सिनियर डिभिजन इन्जिनियर हरिबहादुर थापाका अनुसार हालसम्म आयोजनाको कूल प्रगति ५० प्रतिशत सकिएको छ । आयोजनाको दोस्रो चरण अन्तर्गत बाँध निर्माण, पावर हाउस निर्माण र पेनस्टोक (पाइप राख्ने काम) लगायतका काम सम्पन्न गर्नमा लागि चीनको ग्वाङ्डोन–युनाटियन र रमण कन्स्ट्रक्सन जेभीले २०७६ साउनमा ठेक्का पाएको थियो । त्यस यता विभिन्न समयमा गरी तीन पटक म्याद थप गर्दा पनि आयोजनाको भौतिक प्रगति आधाको हाराहारीमा रहेको छ ।
सुरुमा चार वर्षमा निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार आयोजना २०८० मै निर्माण सम्पन्न गरिसक्नु पर्ने हो । आयोजना सुरुवातसँगै भएको कोरोना महामारीले काम हुन नसकेको कारण देखाउँदै ठेकेदार कम्पनीले थप एक वर्ष म्याद थपेर २०८१ सम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । पहिलो र दोस्रो पटक एक/एक वर्ष र तेस्रो पटक साढे सात महिना म्याद थप गरेको समयावधि चैत्र २० गते सकिए पछि फेरी म्याद थपको प्रक्रिया अगाडि बढाएको आयोजना निर्देशक हरिदत्त पौडेलले जानकारी दिए ।
आयोजनाले गत शुक्रवार म्याद थपको निर्णय गरी विभागमा पठाएको उनको भनाई छ । ‘हामीले आयोजनाको म्याद थपका लागि शुक्रवार नै विभागमा फाइल पठाइसकेको छ’ उनले भने, ‘विभागको निर्णय आउन बाँकी छ ।’ आयोजनाको बाँकी काम अबको १० महिनाभित्र सम्पन्न गर्ने गरी आगामी पुस महिनासम्मको म्याद थप गर्न सिफारिस भएको बताइएको छ । ‘हामीले एक वर्ष भन्दा कम समय थप्न सिफारिस गरेको छ’ आयोजना निर्देशक पौडेलले भने, ‘कन्सल्टेन्सी राय, ठेकेदार कम्पनी माग र आयोजनाको सिफारिसकै आधारमा विभागले निर्णय गर्दा समय तलमाथि हुन पनि सक्छ ।’

आयोजनाको काम सम्पन्न नभए पछि चौथो पटक म्याद थप गर्ने प्रक्रियामा रहेको उनले बताए । ‘आयोजनाबाट शुक्रवार म्याद थपको निर्णय गरिएको छ’ उनले भने, ‘स्वीकृतिका लागि आयोजना निर्देशक काठमाडौँमै हुनुहुन्छ । उताबाट निर्णय भए पछि म्याद थप हुन्छ ।’ आयोजनामा भइरहेको प्रगति, परामर्शदाताहरूको राय सुझावका आधारमा आगामी २०८३ पुससम्मको म्याद थपको लागि प्रक्रिया थालिएको बताए ।
के छ प्रगति ?
नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टिवीएम) प्रयोग गरी सुरुङ निर्माण गरिए पछि सफल आयोजनाको रूपमा भेरी बबई बहुउद्देश्यीय आयोजनालाई लिने गरिएको थियो । सुरुङ निर्माणको काम निर्धारित समयभन्दा एक वर्ष अगाडि सकिएको थियो । आर्थिक वर्ष २०७०/०७१ बाट आयोजनाको निर्माण कार्य थालिएको थियो । अहिले आयोजनामा सिभिल, इलेकट्रिकल र हाइड्रो इलेकट्रिकल गरेर तीन छुट्टाछुट्टै सम्झौताअनुसार काम भइरहेको छ । सिभिल वर्कको काम अरू दुईसँग पनि सम्बन्धित हुन्छ । यसले गर्दा सिभिल वक्र्सको काम रोकिएमा इलेकट्रिकल र हाइड्रो इलेकट्रिकलको काम पनि रोकिने अवस्था रहेको आयोजना निर्देशक पौडेलको भनाइ छ ।
आर्थिक वर्ष २०७९/०८० मा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कम्पनीसँग सम्झौता गरिएको आयोजनाको चौथो पटक म्याद थप गर्ने प्रयास भइरहँदा आधा काम बाँकी रहेको छ । दोस्रो चरण अन्तर्गतका सिभिल संरचनाहरूको निर्माण कार्य भइरहेको छ । यो चरणमा निर्माण कम्पनीले ग्वाङ्डोन–युनाटियन र रमण कन्स्ट्रक्सन जेभील पुलसहितको ब्यारेज, सर्जसाफ्ट (ट्याङ्की) र पावर हाउस निर्माण गरिसक्नु पर्ने थियो । सबै कम्पोनेन्टहरूमा काम भई रहेकोले कुन संरचनामा कति काम भयो भनेर मापन गर्न नसकिने आयोजनाका सिनियर डिभिजन इन्जिनियर हरिबहादुर थापाले बताए ।
किन भयो ढिलाइ ?
२०८० सालसम्म ४६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित भेरी नदीमा बाँध निर्माण तथा बबईमा विद्युत् गृह निर्माणको काम सुरु गर्न २०७६ सालमा ठेक्का पाएको कम्पनीले पहिलो पटक म्याद थप गर्दा कोरोना महामारीले निर्माणमा ढिलाइ भएको कारण देखाएका थिए ।
त्यस पछिका दुई वटा म्याद थपमा पनि निर्माण कम्पनीले आयोजनाकै तर्फबाट डिजाइन ड्रइङमा भएको ढिलाइ, वर्षाको समयमा नदीको बहाव बढ्दा काम गर्न नसकिने प्राकृतिक कारण, बैङ्क ग्यारेन्टी लगायतका प्राविधिक ढिलाइले गर्दा काम गर्न नसकिएको कारण देखाउँदै म्याद थप गरिएको थियो । आयोजनाले काबु बाहिरको परिस्थितिका कारण तत्कालीन परामर्शदाताको सेवा बिचमै रद्द गरी नयाँ प्रक्रियामा जानु परेकोले पनि आयोजना निर्माणमा ढिलाइ भएको थापाको भनाई छ ।

नयाँ परामर्शदाताबाट आवश्यक डिजाइन तथा ड्रईग्सहरु समयमै प्राप्त हुन नसकेको, निर्माण व्यवसायीले पूर्ण र आवश्यक स्रोत परिचालन गर्न नसकेको, आयोजनामा आवश्यक विषयगत अनुभवी कर्मचारी नहुनु र बजेट अभावजस्ता कारणले आयोजनाको काममा ढिलाइ भइरहेको बताइएको छ । ठेकेदार कम्पनीले भने आयोजनाकै तर्फबाट ढिलाइ भएकाले समयमै काम सम्पन्न गर्न नसकेको जनाएको छ ।
वर्षाको समयमा भेरी नदीको बहाव बढ्ने, साथै म्याद थप गरेपछि बिमा, बैङ्क ग्यारेन्टी नवीकरणका समस्याले केही समय लम्बिएको निर्माण कम्पनी रमण कन्स्ट्रक्सनका प्रतिनिधि इन्जिनियर हिम्मत लम्सालले बताए । आयोजनाले माग गरे बमोजिम म्याद थप नगरिदिँदा पनि पटक पटक समय थप्नु परेको उनले बताए । अबको तीन वर्ष म्याद थप भए निर्धारित समयमै काम सम्पन्न गरिने उनको भनाई छ ।
पहिलो चरणमा सुरुङ निर्माणको काम गरेको आयोजनाले दोस्रो चरणमा ४८ मेगावाटको बिजुली उत्पादन गर्ने र तेस्रो चरणमा सिँचाइका लागि काम गर्ने गरी आयोजनाको लक्ष्य हो । यहाँबाट उत्पादित ४८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने र बाँके बर्दियाको ५१ हजार हेक्टर जमिनामा १२ महिना सिँचाई सुविधा पुर्याउने छ । सुरुङ निर्माण पछि प्रतिसेकेन्ड ४० घन मिटर भेरी नदीको पानी बबईमा खसालिने छ ।
आयोजनामार्फत हात्ती खाल आसपासका क्षेत्रमा सिँचाइ, ग्रामीण विद्युतीकरण र ग्रामीण सडक सुधारको काम पनि गरेको जनाएको छ । सुर्खेतको हात्ती खाल र गेरुवानीमा रिंगरोड निर्माण, सोलार पावर सिँचाइ लगायत स्थानीय सडक सुधारका काम गरेको र बर्दियाको चेपाङमा ग्रामीण सडक सुधारका साथै कुरुले, बाटुले भंगाहमा स्थानीय कुलो सुधार गरी सिँचाइ र नदी नियन्त्रणको काम गरिएको जनाइएको छ ।


