शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय, कार्यालय समय ९ देखि ५ कायम
काठमाडौं । पेट्रोलियम आपूर्तिमा सहजताका लागि सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
सार्वजनिक बिदा चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरु कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने पोखरेलले बताए ।
पोखरेलकाअनुसार सरकारले डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ ।
सरकारले विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण दिगो र समावेशी वित्त परियोजनाका लागि स्वीकार गर्ने निर्णय गरेको छ । नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय भएको उनले बताए ।
सरकारले राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय सरकारले गरेको छ ।
सरकारले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय शिक्षा मन्त्रालयको प्रश्तावमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।


