विद्युत महसुल नतिर्नेको धमाधम लाइन काटिँदै

No ads found for this position
No ads found for this position

रौतहट । नेपाल विद्युत प्राधिकरण, गौर वितरण केन्द्रले विद्युत महसुल बक्यौता असुलीका लागि आफ्नो अभियानलाई तीव्र पारेको छ। लामो समयदेखि महसुल नतिर्ने व्यक्तिगत ग्राहक, निजी व्यावसायिक प्रतिष्ठान तथा सरकारी कार्यालयहरूलाई लक्षित गरी प्राधिकरणले कठोर कदम चालेको हो।

गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवका अनुसार पटक–पटकको ताकेतालाई बेवास्ता गरेपछि एकैदिन राजदेवी, ईशनाथ, गरुडा र माधवनारायण नगरपालिकाको विद्युत लाइन काटिएको थियो। लाइन काटिएपछि राजदेवी, गरुडा र ईशनाथ नगरपालिकाले आंशिक बक्यौता बुझाएपछि मात्र पुनः विद्युत सुचारु गरिएको छ।

प्राधिकरणका अनुसार गौर वितरण केन्द्र मातहतका गौर, राजदेवी, दुर्गा भगवती, माधवनारायण, गढीमाई, गरुडा, परोहा, राजपुर, ईशनाथ, यमुनामाई र वृन्दावन नगरपालिका (२ वडा) भित्रका विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरूले महसुल तिर्न अझै आलटाल गरिरहेका छन्।

हाल पहिलो चरणमा सडक बत्ती बाहेकका अन्य बक्यौता उठाउने कार्य भइरहेको गौर वितरण केन्द्रका प्रमुख यादवले बताए । उनका अनुसार साउन १ गतेदेखि चैत १६ गतेसम्मको अवधिमा ९ करोड ५५ लाख ८३ हजार ३१६ रुपियाँ बक्यौता रहेका कुल २ हजार ४५ जना ग्राहकको लाइन काटिएको हो ।

तीमध्ये १ हजार ७७२ ग्राहकले ५ करोड ५० लाख १५ हजार ३७७ रुपियाँ महसुल बुझाएर लाइन सुचारु गरिएको छ । कालोसूचीमा रहेका ६० जनाबाट २४ लाख ४९ हजार ६३५ रुपियाँ असुल गरिएको छ। साथै, विद्युत चुहावट (चोरी) मा संलग्न १२० जनालाई कारबाही गरी १५ लाख ७६ हजार १२४ रुपियाँ जरिवाना गरिएको उनले जानकारी दिए ।

कुनै पनि बहानामा विद्युत महसुल नबुझाउने कार्य मान्य हुने छैन। सरकारी निकाय होस् वा प्रभावशाली व्यक्ति, बक्यौता नतिरेसम्म लाइन काट्ने अभियान निरन्तर जारी रहने प्राधिकरण गौरले जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *