खुला सडकमा होली मनाउन र दलको चुनाव चिन्ह प्रयोगमा निषेध
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थान र खुला सडकमा भेला भएर होली पर्व मनाउन निषेध गरेको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासनले फागुन १८ मा नेपालीहरूले मनाउन लागेको रङहरूको पर्व फागु पूर्णिमा (होली) सार्वजनिक ठाउँमा खेल्न निषेध गरिएको जानकारी दिएको हो ।
‘चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरीत रंग एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जवरजस्ती रंग दल्ने, अति उत्तेजित भई भागदौड गर्ने जस्ता अमर्यादित कार्य नगर्न नगराउन सबैमा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लाई लक्षित गरी निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ को दफा १३ (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने भन्ने व्यहोरा उल्लेख गरेको छ ।
त्यस्तै, होली खेल्दा राजनीतिक दलको चुनाव चिन्ह र उम्मेदवारका तस्बिर अंकित भेष्ट, टिसर्ट, कमिज र गम्छा जस्ता कपडा प्रयोगमा स्थानीय प्रशासनले पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।
फाइल तस्बिर ।


